
काठमाडौं । आज पहिलो राष्ट्रिय वृक्षरोपण दिवस । काठमाडौं उपत्यका सहित देशभर वृक्षरोपण कार्यक्रम आयोजना गरि मनाईंदै छ । सरकारले यसै वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरे अनुरुप दिवस मनाईएको हो ।
दिवसको अवसरमा काठमाडौं उपत्यकाको हकमा कोटेश्वर–कलंकी सडकखण्डमा फलफूलका बिरुवा रोपिँदै छ । कोटेश्वर क्षेत्रको वृक्षरोपण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं सहभागी हुने कार्यक्रम छ ।
कोटेश्वर–कलंकी क्षेत्रलाई नौ खण्डमा बिभाजन गरी सम्पर्क व्यक्ति तोकेर सहभागीहरुको कार्यक्षेत्रसमेत तोकिएको छ । हरेक खण्डमा सम्पर्क व्यक्ति तोकिएको छ । साथै वृक्षरोपण कार्यक्रममा सहभागीहरुको कार्यक्षेत्र पनि निर्धारण गरिएको छ ।
जसमा सडकखण्ड अन्तर्गत कोटेश्वर(बालकुमारी, बालकुमारी(ग्वार्को, ग्वार्को(बीएण्डबी, बीएण्डबी(सातदोबाटो,सातदोबाटो(महालक्ष्मीस्थान, महालक्ष्मीस्थान(एकान्तकुना, एकान्तकुना(बागडोल, बागडोल(बल्खु, बल्खु(कलंकी रहेका छन् भने सम्पर्क व्यक्तिहरु क्रमशः डा. बुद्धिसागर पौडेल (सहसचिव),मोहन जोशी (सहसचिव),डा. इन्द्र सापकोटा (उपसचिव),डा. रामचन्द्र कंडेल (सहसचिव),ज्योती जोशी भट्ट (सहसचिव),चन्द्रमान डंगोल (सहसचिव),सुधिर कोइराला (सहसचिव),पशुपति कोइराला (उपसचिव) रहेका छन् । कार्यक्रममा सांसद, राष्ट्रसेवक,भूतपूर्व सैनिक तथा जनमुक्ति सेना नेपाल लगायत अन्य विभिन्न संघ संस्थाहरु सहभागी रहनेछन् ।
