तनहुँमा पास्निको भोज खाँदा ४१ जना बिरामी

Share:

तनहुँ । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइ (पास्नि) मा भोज खाएका ४१ जना बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका स्थानीय शनिबार एकैपटक बिरामी परेका हुन् ।

बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायतका खानेकुरा खाएका थिए । भोजमा माछा खाएका जति बिरामी परेको बताइएको छ । माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेकाले माछाको असर देखिएको हुनसक्ने अनुमान गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएका छन् ।

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले डुम्रे बजारको एक पसलबाट माछा खरिद गरी लगिएको र माछाको विषादीका कारण स्थानीयवासी बिरामी परेको हुनसक्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: