पोखरामा धान दिवस : हिलाेमा रमाए पर्यटक (फोटोफिचर)

Share:

अनुप पौडेल, पोखरा । पोखरा-१७ बिरुवाफाँटमा आइतबार सयौं बढीको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकको भिड देखिन्थ्यो । पञ्चे बाजा घन्की रहेको थियो । त्यसैको तालमा कोही नाचिरहेका थिए । त्यसबाहेक पनि हिलोमा रमाउनेको कमी थिएन । कसैको गलामा माला, निदारमा रातो टिका अनि हातमा दहि र चिउरा थियो ।

यो दृश्य अरु ठाउँको नभएर पोखरा पर्यटन परिषदले आयोजना गरेको १६ औँ संस्करणको असारे रोपाइँ महोत्सवको थियो । पोखरा महोत्सवकै सहर भएपनि अरु महोत्सव भन्दा यो महोत्सवको दृश्य भिन्न थियो । त्यही भिडमा हलीको भेषमा देखिन्थे पोखरा महानगरका प्रमुख मानबहादुर जिसी । घाँटीमा धानको बिउको माला र हातमा लट्ठी लिएर खेतमा पसेका प्रमुख जिसीले केहिबेर गोरु खेदेर निस्किए ।

हिलो खेलेकाहरु आफू चिन्नै नसक्ने भएपनि खुसि देखिन्थे । १६ औं संस्करणको राष्ट्रिय धान दिवस देशभर मनाइरहँदा पोखरेली पर्यटन व्यवसायीले यो दिनलाई कृषि पर्यटनसँग जोडेर मनाउने अवसर जुर्याए । स्वदेशी मात्र होइन विभिन्न देशका विदेशी पर्यटक पनि हिले दौड, रोपाइँ प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, हिलोमा माछा समाउने प्रतियोगिता र हल गोरु दौड प्रतियोगितामा रमाइरहेका थिए।

विभिन्न आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता र साँस्कृतिक प्रस्तुती पनि महोत्सवमा देखिन्थ्यो । बिरुवाफाँट बिषखेतका ऋषिराम भण्डारीको ४ रोपनी खेतमा महोत्सव आयोजना गरिएको हो । हिलोमा भएका प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुनेलाई नगदसहित मेडल प्रदान गरिएको थियो ।

परिषदले वर्षेनी पोखराका फरक फरक ठाउँमा महोत्सव आयोजना गर्दै आएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरिएको थियो । कृषि प्रधान देश भनिएपनि पोखरासहित विभिन्न सहरमा ठडिएका घरले खेतियोग्य जमिन मासिँदै गएको पाईंदै आएको छ ।

आज नै पोखराको पामे, बेगनासलगायतका ठाउँमा रोपाइँ महोत्सवको आयोजना गरिएको थियो । नेपाल मात्र नभई विश्वको जनसंख्याको आधा मानिसको मुख्य खाना नै चामल हो । सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बढाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा ५६ दशमलब १० हजार मेट्रिक टन धान उत्पादन भएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: