
तनहुँ- तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उनी खाली हात फर्किनुपरेन । दिनमा १० किलोसम्म माछा मारेर बिक्री गरेका उनलाई आजभोलि दिनमा एक/दुई किलो माछा मार्न पनि मुस्किल छ ।
साँगेखोलामा माछा मार्न जाल हानिरहेका बेला भेटिएका थापाले आजभोलि खोलामा माछा पाउनै गाह्रो भएको गुनासो गरे । थापाले भने, ‘करेन्ट लगाउने, विष हाल्ने प्रवृत्ति बढेपछि आजभोलि माछा लोप हुँदै गएको छ । माछा पाउनै छाडियो ।’ थापाका अनुसार जाल हानेर भन्दा करेन्ट र विष हाल्दा बढी र छिटो माछा पाइने भएकाले युवाले यसको प्रयोग गर्न थालेका छन् ।
जाल बोकेर दिनभरि हिँड्दा आफूले १० किलोसम्म माछा मारेको अनुभव सुनाउँदै थापाले अहिले मुस्किलले दुई किलोसम्म माछा मार्ने गरेको बताए । कुनै समय माछाका लागि प्रसिद्ध रहेको यस खोलामा अहिले विषादी प्रयोगले माछामा कमी आएकाले विष र करेन्ट प्रयोगलाई नियन्त्रण गर्नुपर्ने थापाले माग गरे ।
व्यास नगरपालिका–५ पतेनीका जितबहादुर दरैले दुई वर्षदेखि साँगेखोलामा माछा मार्दै आएका छन् । घर निर्माणको काम गर्ने दरैले फुर्सदको समयमा खोलामा माछा मार्ने गरेको बताए । ‘पहिला–पहिला खुट्टामा माछा ठोक्किन्थ्यो, तर अहिले माछा पाउन गाह्रो छ,’ दरैले भने । दरैले बढीमा छ/सात किलोसम्म माछा मार्ने गरेको बताउँदै अचेल दुई किलो मार्न धौधौ पर्ने बताए ।
उनका अनुसार साँगेखोलामा माछा निकै कम रहेको छ । विष र करेन्ट प्रयोगले माछा लोप हुँदै गएको हुन सक्ने दरैले बताए । ‘पहिला–पहिला प्रशस्त माछा पाइने साँगेखोलामा माछा लोप हुँदैछ, विष र करेन्ट हान्ने कार्यलाई सम्बन्धित निकायले रोक लगाउनुपर्छ,’ उनले भने । बल्छीको प्रयोगले आफूले माछा मार्ने गरेको उनले सुनाए ।
साँगखोलाको माछा किलोको एक हजार २ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । माछाका लागि बजारको कुनै समस्या नरहेको र माछा बेचेर घरखर्च चलाउन सहयोग पुगेको दरैले बताए ।
