एकैरात ५ घरमा लुटपाट र चोरी

604
0
Share:

सप्तरी – जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सोमवार राति ५ घरमा चोरी भएको छ । वडा नम्बर २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जंगल राम र झमेली सदाको घरमा चोरी भएको हो । मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद ४० हजार रुपैयाँ, चाँदीको ८ तोलाको पाउजु र ५ तोलाको ब्रासेट, मोबाइल र टर्च चोरी भएको पीडितले बताए ।

यसैगरी कैलु चौधरीको घरबाट नगद ५ हजार रुपैयाँका साथै कानमा लगाएको आधा तोला सुनको रिङ लुछेर लगेको चौधरीले बताए । जंगल राम, झमेली सदाको १/१ थान मोबाइल र सुनिल चौधरीको कपडा र नगद ५ हजार रुपैयाँ लगेको स्थानीयले जनाएका छन् ।

चौपायाको व्यापार गर्न भनेर ऋण लिएको पैसा चोरी हुँदा किस्ता तिर्न कठिनाइ हुने परमेश्वर रामले दुखेसो पोखे । केही दिनयता यस क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको छ । एकै रातमा ५ घरमा लुटपाट र चोरी भएपछि स्थानीय त्रसित भएका छन् । चोरको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्राले बताए ।

कमेन्ट गर्नुहोस्
Share: