
नेपाल एसियाली खेलकुद अन्तरगत क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अधिकांश खेलमा नेपालले निराशाजनक प्रदर्शन गरिहेका बेला पुरुष क्रिकेटले भने लगातार दोस्रो जित हात पार्ने क्रममा आइतबार माल्दिभ्सलाई ७ विकेटले पराजित गरेको छ ।
जितसँगै नेपाल समूह बीको विजेताका रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अब नेपालले असोज १५ गते अफगानिस्तानसँग खेल्नेछ ।
आइतबार इन्चोनमा माल्दिभ्सले प्रस्तुत गरेको ५४ रनको विजयी लक्ष्य नेपालले १४.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो । नेपालका ओपनर सुवास खकुरेल २७ रनमा अविजित रहे ।
कप्तान पारस खड्काले १५ रन जोडे । शरद भेसवाकर ६ रनमा अविजित रहे । सागर पुन र ज्ञोनन्द्र मल्लले १-१ रन बनाए ।
यसअघि पहिले व्याटिङ गरेको माल्दिभ्सले १८.५ ओभरमा ५३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा सागर पुन, भुवन कार्की र शक्ति गौचनले समान २/२ विकेट लिए भने सोमपाल कामी र बसन्त रेग्मीले १/१ विकेट लिएका छन् ।

