खेलपछि मेस्सीको आरोप : ‘रेफ्रीले ब्राजिलको पक्षमा निर्णय गरे’

Share:

एजेन्सी । अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीले खेलमा रेफ्रीहरुले ब्राजिलको पक्षमा निर्णय गरेको आरोप लगाएका छन् ।

बुधबार बिहान भएको सेमिफाइनल खेलमा अर्जेन्टिना ब्राजिलसँग २–० ले पराजित हुँदै कोपा अमेरिकाबाट बाहिरिएको छ । बार्सिलोनाका सुपरस्टार खेलमा चम्किन नसक्दा ब्राजिलले ग्याब्रियल जिजस र रोबर्टो फर्मिन्होको गोलको मद्दतले जीत हासिल गर्यो ।

खेलपछि मेस्सी रेफ्रीहरुबिरुद्ध खनिएका हुन् । खेलपछि अन्तरवार्ता दिनेक्रममा खेलमा सर्जियो अगुएरोलाई पेनाल्टी प्रदान नगरेको आक्रोश व्यक्त गरे । उनले भिडियो असिस्टेन्ट रेफ्री र खेल अधिकारीको आलोचना गरे ।

‘उनीहरु हामीभन्दा राम्रो खलिरहेका थिएनन् । उनीहरुले शुरुवातमै गोल गरे भने हामीलाई पेनाल्टी नदिँदा गोल गर्ने अवसर पाए,’ मेस्सीले भने, ‘उनीहरुले भिएआरसँग पनि दोहोरो जाँच गरेनन् ।’

‘यो खेल अवधिभर भइरह्यो । ब्राजिलको पक्षमा निर्णय गरिरहँदा यसले हामीलाई खेलमा एकाग्र हुन दिएन,’ उनले भने ।

‘हाम्रो लागि कुनै बाहना होइन । तर, यसबारे हामीले पुनःजाँच गर्नुपर्छ । मलाई आशा छ कोनमेबोलले यसबारे केही गर्नेछ,’ मेस्सीको भनाई थियो, ‘हामीले उत्कृष्ट खेल्यौँ । उनीहरु हामीभन्दा उत्कृष्ट थिएनन् ।’

अर्जेन्टिनाले खेलअवधिभर ब्राजिलभन्दा १० पटक बढी अर्थात १४ पटक विपक्षीको पोष्टमा आक्रमण गरेको थियो ।
दुई पटक अर्जेन्टिनाको प्रहार पोष्टमा लागेको थियो ।

ब्राजिलले अब चिली र पेरुको विजेतासँग आइतबार माराकाना स्टेडियममा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: