सरकारका विरोधीहरुले मास्क लगाएर हिंड्न थाले : प्रधानमन्त्री ओली

Share:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नकै लागि विरोधीहरुले मास्क लगाएर हिड्न थालेको तर्क गरेका छन् । काठमाडौंमा मास्क लगाउन नपर्ने भनि दिएको अभिव्यक्तिको आलोचना हुन थालेपछि बचाउ गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौंमा समाजवादी पार्टीका केही नेतालाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उनले आफूले प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिड्नै नसक्ने अवस्था रहेको तर अहिले त्यसमा सुधार आएको भनेको बताए ।

तर विरोधीहरुले सरकारको विरोध गर्नकै लागि मास्क लगाउन थालेको तर्क गर्दै ओलीले भने, ‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । तर, यसले बाटो सफा गाउने हाम्रो काम रोकिँदैन ।’

कार्यक्रममा प्रचण्डले आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरे । नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडी (बौद्धिकता)ले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने उनको दाबी छ ।

उनले मोहन बैद्य, मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

पूर्वमन्त्री कल्पना धमलासहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रमबीच नेताहरुलाई पार्टी प्रवेश गराइएको हो ।

कमेन्ट गर्नुहोस्
Share: