
गोकुल बानियाँ
पोखरा १३ असोज ।
ठेक्का प्रक्रियाको टुङ्गो लागेर शिलान्यासको संघारमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अबरुद्ध भएपछि पोखरेलीहरु पुन आन्दोलित भएका छन् ।
चिनियाँ ठेकेदार कम्पनी सिएएमसीसँग निर्माण सम्झौता भएको तीन महिना बितेपनि निर्माण कार्य अन्योलमा परेपछि पोखरेलीहरु पुन आन्दोलित भएका हुन् । सम्झौता अनुसार निर्माण कार्य तत्काल थाल्न माग सहित सोमवारदेखि दवाबमुलक कार्यक्रम सुरु गरिएको छ ।
विमानस्थल निर्माणमा दवाब दिन पोखरा पर्यटन परीषदले सोमबार जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार नै बसेको बिमानस्थल निर्माण सरोकार समितिको बैठकले दशै लगतै आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
असोज २१ गते पोखराका विभिन्न सरोकारवाला संघ÷संस्था र नागरिक समाजका अगुवा एवं पत्रकारहरु सहितको वृहत बैठक बस्ने निर्णय भएको सरोकार समितिका संयोजक तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बताए । बैठकले आवश्यक परे विरोधका कडा कार्यक्रमहरु पनि ल्याउने चेतावनी दिएको छ । यसैगरी असोज २४ गते पोखराका सबै तह र तप्काका विकासप्रेमी नागरिकको उपस्थितिमा वृहत सभाको आयोजना गरिने समितिले जनाएको छ । विमानस्थल निर्माण प्रक्रिया टुंगोमा पु¥याउन सभाले दवाब सृजना गर्ने थापाले बताए ।
एमाले नेता भिम आचार्य पर्यटन मन्त्री भएका बेला गत जेठ १ गते पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माणको लागि ठेकेदार कम्पनीसंग निर्माण सम्झौतामा हस्ताक्षर भएको थियो । बिमानस्थल निर्माणको जिम्मा पाएको चिनिया ठेकेदार कम्पनी सिएएमसी र नेपाल नागरिक उड्ययन प्राधिकरण बिच २१ करोड ६० लाख डलर अर्थात् करिब २१ अर्ब रुपैयाँमा निर्माण सम्झौता भएको हो ।
ठेक्का प्रक्रिया सुरु भएर पनि अबरुद्ध बनेको झण्डै २ बर्षपछि गत चैत्र २४ गते सरकारले चिनिया कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । यसअघि सरकारले साढे १६ करोड डलर लागत अनुमान गरेर अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेकामा सबैभन्दा कम चाइना सीएएमसीले साढे ३० करोड डलरको प्रस्ताव गरेपछि विमानस्थल बनाउने/नबनाउने विषयमा निकै विवाद भएको थियो ।
पोखरेलीको निरन्तर आन्दोलन र दवाबपछि पुनराबलोकन मुल्यमा निर्माण सम्झौता भएपनि फेरि किचलो सुरु भएपछि पोखरेली आक्रोसित बनेका छन् । बिमानस्थल निर्माणको लागि दवाब दिन गत बर्षको असोज देखि दशैतिहार नभनी झण्डै ३ महिना रिले अनसन बसेका पोखरेलील पोखराबाट झण्डै ५ सय गाडि लगेर सिंहदरवार घेराउ समेत गरेका थिए ।
ठेकेदार कम्पनीसंग निर्माण सम्झौतासँगै चिनियाँ एक्जिम बैंकसँगको ऋण सहयोगमा हस्ताक्षर गर्ने काम मात्रै बाकी रहेको थियो । यसका लागि एक्जिम बैंकले साढे १४ करोड डलर ऋण दिन तयार भएको छ । प्राधिकरणले सन् २०१२ फेब्रुअरी ९ मा ईपीसी मोडलमा विमानस्थल निर्माणका लागि पहिलोपटक बोलपत्र आह्वान गरेको थियो । यसमा २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडा धावनमार्ग, एरोब्रिजयुक्त जहाजबाट सोझै टर्मिनल पुगिने भवन तथा कार्गो भवन निर्माण गरिने उल्लेख छ ।
ठेकेदार कम्पनीसंगको निर्माण सम्झौतासंगै छिट्टै अधिग्रहण गरिएको जग्गाको मुआब्जा बितरणको काम सुरु गर्ने गरी बर्तमान अर्थमनत्री रामशरण महतको बजेट भाषणमा आबश्यक जग्गा अधिग्रहणको काम सुरु गरिने उल्लेख छ । तर निर्णय भईसकेको काम अहिले आएर रोकिनुमा अर्थमन्त्री महतकै चलखेल रहेको कतिपयले आरोप लगाएका छन् । कतिपयले भने भिम आचार्य पर्यटन मन्त्रीबाट हट्नुमा पोखरा क्षेत्रिय बिमानस्थल निर्माण कार्यको टुङ्गो लगाउनुलाईनै कारण मानेका छन् । बिमानस्थल निर्माणको लागि २०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

