
अनुप पौडेल, पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ मा रहेको नयाँ मोदी-लेखनाथ प्रसारण लाईनको सवस्टेशन निर्माण विवादमा तानिएको छ । नेपाल विद्युत प्राधिकरणले लाहाचोकमा १३२ केभी क्षमताको प्रसारण लाईनको सवस्टेशन निर्माण गरिरहेकोे छ ।
सवस्टेशनको विद्युत लाईन र त्यहाँबाट लेखनाथ ल्याउनका लागि प्रसारण लाईनको टावर बनाउन जग्गा रोक्का गरिएको छ । तर, बीच फाँटबाट जग्गा रोक्का गरिएको भन्दै अहिले स्थानीयबासी आक्रोशित बनेका छन् ।
टावर बनाउनका लागि आफूहरुलाई थाहा नै नदिई जिल्ला प्रशासन कार्यलयले बिना मितिको सूचना जारी गरेको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । प्रसारण लाईन संघर्ष समितिले सोमबार आयोजना स्थलमा पत्रकार सम्मेलन गर्दै आफ्नो माग पूरा नगरे काम अगाडि बढ्न नदिने चेतावनी दिएको छ ।
संघर्ष समितिका अध्यक्ष शरद ढकालले सम्बन्धित निकायमा पत्राचार गरे पनि सुनुवाई नगरी एकतर्फी ढङ्गले अगाडि बढेको बताए । ‘हामीले सबै सम्बन्धित निकायमा पत्राचार गर्यौं तर हाम्रो मागको कुनै सुनुवाई भएन,’ अध्यक्ष ढकालले भने, ‘हाम्रो मागको सुनुवाई नगरी एकतर्फी ढङ्गले अगाडि बढियो ।’
बिना मितिको सूचना जारी गरेर पीडितहरुलाई फुटाउने र कमजोर बनाउने काम भैरहेको उनीहरुको आरोप छ । पीडित पक्षका अनुसार जग्गा रोक्का गरेको सूचना प्रकाशन गर्दा कसैकोमा जग्गा धनीको नाम, कुनैमा कित्ता नम्बर र कुनैमा क्षेत्रफल नमिलेको पाइएको छ । आयोजनाका कारण झन्डै ५७ घरधुरी प्रभावित भएका छन् ।
स्थानीयबासीले मानवीय क्षति नहुने गरी वातावरणीय प्रभाव मूल्याङकन गरेर अगाडि बढ्न सरोकारवाला निकायलाई सुझाव दिए । अर्का पीडित विष्णु पौडेलले वस्ती विस्तारको क्रम बढिरहेका बेला सार्वजानिक सुनुवाई नगरी एकतर्फी तरिकाले अगाडि बढ्नु सकरात्मक नभएको बताए ।
‘सार्वजानिक सुनुवाई नगरी एकतर्फी तरिकाले अगाडि बढ्नु राम्रो होइन’ उनले भने, ‘यहाँ वस्ती विस्तार बढिरहेका बेला यसबाट भविष्यमा पर्न जाने असर बारे पनि सोच्नुपर्छ । ’
अध्यक्ष ढकालले भने आफूहरुको गुनासो नसुनी आयोजना सकिए त्यहाँबाट दुई किलोमिटर टाढासम्म प्रवाह हुने अर्थिङ्गले लाहाचोक वस्ती नै मासिने बताए । गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले आफूहरुसँग समन्वय नगरी अगाडि बढेको उनको भनाइ छ । माग पुरा नभए आयोजनामा तालाबन्दी गरेर काम अगाडि बढ्न नदिने पीडित पक्षले बताएका छन् ।
म जनतासँगै छु : अध्यक्ष गुरुङ
गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले आफूले स्थानीयको गुनासो सुनेर त्यसको समाधानका लागि पहल गरिरहेको बताएका छन् । पत्रकार सम्मेलन सकिएपछि आइपुगेका उनले स्थानीयलाई आस्वस्त पार्दै भने, ‘जनप्रतिनिधि भएको नाताले हामीले पेलेर जाने भन्ने हुँदैन, जायज माग भए हामी तपाइँहरु सँगै छौँ ।’
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले गाउँपालिकासँग कुनै समन्वय नगरी आफ्नै तरिकाले अगाडि बढिरहेको उनले स्पष्ट पारे । प्रमुख जिल्ला अधिकारीसगँको बैठकमा एकपटक सहभागि भएर टावर राख्ने विषयमा छलफल गरेको अध्यक्ष गुरुङले बताए । सो छलफलमा आफूले जग्गा अधिग्रहणका लागि नभई जग्गाधनीलाई छलफलमा बोलाउने विषयमा सहमति जनाएको उनको भनाइ छ ।
जनताले भने जसरी अगाडि बढे ५ वर्ष लाग्छ : आयोजना प्रमुख
आयोजना निर्माणको ठेक्का लिएको भारतीय ठेकेदार कम्पनि एबीबी इन्डिया लिमिटेडले भने स्थानीयको मागअनुसार चले आयोजना सम्पन्न गर्न ढिलाइ हुने जनाएको छ । आयोजना प्रमुख रोशन अग्रवालले यसरी नै विवाद सिर्जना भए आयोजनाको काम ५ वर्षमा पनि नसकिने बताए ।
दुई अर्ब लगानीमा आगामी आर्थिक वर्षमा सक्ने लक्ष्य रहेको उनले सुनाए । गैरकानुनी रुपमा तालाबन्दी नै गर्छु भन्नु शोभानीय नभएको अग्रवालको भनाइ छ । ‘तालाबन्दी नै गर्छौं भन्नु राम्रो होइन’ उनले भने, ‘चित्त नबुझे छलफल गरेर अगाडि बढ्नुपर्छ ।’ स्थानीयले भने जस्तै गरी सडक छेऊ र जंगलबाट टावरलाई लेखनाथसम्म पुर्याउनु सम्भव नरहेको अग्रवालले बताए ।
उनका अनुसार स्थानीयले भने जस्तै गरेर अर्थिङ्ग प्रवाह हुँदैन । ‘त्यसरी अर्थिङ्ग प्रवाह हुन्छ भन्नु भ्रम मात्र हो ‘ आयोजना प्रमुख अग्रवालले भने, जुन टावर हो त्यसबाहेक अरु ठाउँमा त्यसको असर हुँदैन ।’
भौतिक संरचना निर्माणको काम १० प्रतिशत बाँकी
हाल सो सव स्टेशनअन्तर्गत भौतिक संरचना निर्माणको काम ९० प्रतिशत सकिएको छ । भौतिक संरचना निर्माणको ठेक्का पाएको हनुमान कन्स्ट्रक्सनले बाँकी १० प्रतिशत काम जतिसक्दो छिटो सक्ने बताएको छ ।
आयोजनका लागि चार वर्ष पहिले ६२ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । प्रसारण लाईन निर्माणका लागि नेपाल सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन् । यो सव-स्टेशनमा सेती नदी र मर्दीखोलाबाट उत्पादित विद्युत जोडिनेछ ।
प्रसारण लाइन र सव-स्टेशन निर्माणको काम भारतको कल्पयात्रु पावर ट्रान्समिसन लिमिटेडले लिएको छ । प्रसारणलाईनको काम डेढ बर्षभित्र सक्ने लक्ष्यअनुसार अहिले काम भैरहेको छ ।
पर्वतको मोदी गाउँपालिका २ देउपुर देखि कास्कीको लेखनाथसम्म निर्माण भैरहेको प्रसारण लाईन ४२ किलोमिटर लामो हुनेछ । यो प्रसारण लाईनमा १ सय ३८ वटा टावर रहने आयोजनाले जनाएको छ ।

