आज साउने संक्रान्ति,देशैभर मनाईंदै

Share:

पोखरा ।  आज साउन १ गते । साउने संक्रान्ति अर्थात लुतो फाल्ने पर्व देशैभर मनाईंदैछ । ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ ।

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि र मकर राशि प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। आजदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणि गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।

आज साँझ कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पतिहरु बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टो अर्थात लुतो फ्याँक्ने चलन छ । असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन बस्दै आएको हो । यस्तै फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास पनि रहिआएको छ ।

पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याक्ने संस्कृति मनाउने गरिएको छ । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा लुतो फाल्ने प्रचलन हालसम्म कायमै छ ।

महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्छ । आजदेखि हिन्दु धर्मका चाडपर्वको लहरसमेत सुरु हुने गर्दछ ।

कमेन्ट गर्नुहोस्
Share: