रुपामा अस्पाल्ट प्रविधिको कंक्रिट पिच

Share:

पोखरा । कास्की जिल्लाको भौगोलिक हिसाबले सानो एवम् प्राकृति सौन्दर्यले भरिपुर्ण रुपा गाउँपालिकामा सर्वोत्कृष्ट अस्पाल्ट (asphalt) प्रविधिबाट पिच बाटो निर्माण गरिने भएको छ । दुई बर्ष अघि ट्रयाक खोलिएको रामकोट–रामदी सडक सात करोड ३५ लाख रुपैंयाको लागतमा पक्की गरिने भएको छ । पाँच दशमलव एक किलो मिटर लम्वाई र ६ मिटर चौडाईको एकतर्फी ढल सहितको सो बाटो गाउँपालिकाको ६ करोड ३५ लाख र सांसद क्षेत्र विकास पूर्वाधार कार्यक्रम अन्तर्गत एक करोड रुपैयाको लागतमा निर्माण गरिने भएको हो ।

पूर्व मन्त्री एवम् संघीय सांसद खगराज अधिकारीले एक कार्यक्रमका बीच बाटो निर्माण कार्यको शिलान्यास गर्दै ग्रामीण क्षेत्रमा निर्माण गरिएका पूर्वाधारको सहि रुपमा सदुपयोग हुनु पनर्मो जोड दिए । सङ्घ र प्रदेश सरकारले ग्रामीण क्षेत्रको पूर्वाधार विकासमा जोड दिंदै आएको उल्लेख गर्दै उनले निर्माण गरिएका भौतिक संरचनाको भरपुर उपयोग गर्दै उत्पादनसँग जोड दिन स्थानीय वासिन्दासँग आग्रह गरे ।

नेपाल कम्युष्टि पार्टी (नेकपा) गण्डकी प्रदेश सह–अध्यक्ष समेत रहेका पूर्व मन्त्री अधिकारीले पार्टीले निर्वाचनका समयमा जनतासँग गरेका प्रतिवद्धता अनुरुप विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको स्पष्ट पारे । राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल आगामी दुई बर्षभित्र सञ्चालनमा आउने गरि निर्माण कार्य तिब्ररुपमा भई रहेको जानकारी दिंदै उनले यसले गण्डकी प्रदेशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

पोखराका नौवटा तालमध्येको तेश्रो ठूलो एवम् सुन्दर रुपा तालको संरक्षणका लागि नोपल सरकारले चालू आर्थिक बर्षमा आठ करोड रुपैंया बजेट विनियोजन गरेको बताउँदै उनले बाँध निर्माणसँगै पीडित स्थानीयवासीलाई मुआव्जा दिने कार्य अन्तिम चरणमा पुगेको बताए । गण्डकी प्रदेश सभा अर्थ समितिका सभापति दीपक कोइरालाले संघीय र प्रदेश सरकारको विकास निर्माणको मुख्य आधार स्थानीय सरकार भएको उल्लेख गर्दै गुणस्तरीय निर्माणका लागि निर्माण कम्पनी, जनप्रतिनिधि र स्थानीयवासीको समन्वय हुनुपर्नेमा जोड दिए ।

अर्का प्रदेश सभा सदस्य गायत्री गुरुङले सरकारले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल बनाउन सवै पक्षको सहयोगको खाँचो औल्याउँदै रुपा गाउँपालिकाको विकास निर्माणमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य पालिकाको पहिलो प्राथमिकतामा रहेको जानकारी दिंदै रामकोट रामदी पिच मोटर बाटो निर्माणसँगै सवै वडा पालिकाको केन्द्रसँग यातायात जोडिने स्पष्ट पारे ।

गाउँपालिकाका कूल तीन हजार आठ सय घर मध्ये तीन हजार चार सय घरमा आगामी तीन महिना भित्र खानेपानी धारा जडा गरिने बताउँदै उनले नेपाल रेडक्रस सोसाईटी कास्की शाखाद्धारा सञ्चालित हंसपुर खानेपानी योजनाका करीव चार सय घरधुरीमा भने डेढ बर्ष लाग्ने जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष लालसुव्वा गुरुङले गाउँपालिकाको केन्द्र सडक सञ्जालसँग जोडिएको बताउँदै विकास निर्माणमा सामूहिक प्रयासको आवश्यकता औल्याए ।

गाउँपालिकाका इन्जिनियर विरेन्द्र तिवारीले सिमेन्ट सहित राखेर पिच गरिने अस्पाल्ट कंक्रिट पिच मुलुकमा सम्पूर्ण गाउँपालिका मध्ये सम्भवतः पहिलो भएको बताउँदै अरुको तुलनामा यो प्रविधि गुणस्तरीय एवम् टिकाउ हुने विश्वास व्यक्त गरे । खड्का कृष्ण वाइवा एण्ड लामा जोभि निर्माण कम्पनीका ऋतेश गुरुङ र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेलले गुणस्तरीय समयमा निर्माण सम्पन्न गर्नका लागि सवै पक्षको सहयोग आवश्यक रहेको धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: