रञ्जन अधिकारी पोखरा असोज २५ गते । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले गैर सरकारी संस्थाहरु पारदर्शी रुपले अघि आउनुपर्नेमा जोड दिएका छन् । स्थानीय स्तरमा सन्तोषजनक काम गरेपनि एनजिओहरु पारदर्शी बन्न नसकेको उनको भनाई छ ।
सीप हस्तान्तरणद्वारा सशक्तिंकरण (नेष्ट) को १२ औं साधारणसभामा बोल्दै प्रमुख अतिथि थपलियाले गैरसकारी संस्थाहरुले सही ढंगले काम गरेर पारदर्शी बन्नुपर्ने बताएका हुन् । ‘नेपालमा करीब ५६ हजार गैरसरकारी संस्था छन् । ३१ हजार दर्ता भएका छन् ।’ उनले भने– ‘वर्षेनी ३० अर्ब रुपैंया खर्च गर्ने गरेका छन् । यसलाई सही ढंगले परिचालन गर्न जरुरी छ ।’ उनले गैरसरकारी संस्थाहरु सरकारको प्रतिष्पर्धी नभएको तर परिपुरक र सहजकर्ता भएको बताए । नीजि क्षेत्रहरु नाफामुखी हुँदा स्थानीय स्तरमा पुग्न नसक्ने र राज्य पनि पुग्न नसकेको अवस्थामा एनजिओहरुले समुदाय स्तरमा राम्रै काम गरेको भन्दै उनले तरिका, कार्यशैली फरक भएपनि सरकारी नीतिसँगको आबद्धताको लागि धन्यवाद दिए । अधिकारमुखी र समावेशी विकासको अवधारणालाई समुदाय स्तरमा लैजाने काम एनजिओहरुले गरेको उनको भनाई छ ।
यसैबीच, उनले कास्की जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने मात्र काम भएको र त्यसपछि त्यसै छाडिएकोमा दुःख व्यक्त गर्दै फोहोरमैला जस्तो विषयमा निरन्तर लाग्नुपर्ने बताए । उनले पोखरालाई हरित शहर, वातावरणमैत्री शहर घोषणा गर्ने अभियानमा आफू लागेको भन्दै सुरुमा दुई महिनाको कार्ययोजना अनुरुप आउँदो कार्तिक १ गते फेवातालबाट सरसफाई अभियान सुरु गर्ने पनि जानकारी दिए ।
गैसस महासंघ कास्कीका अध्यक्ष गोपाल खड्काले क्षमता अभिवृद्धिका क्षेत्रमा नेस्टले उल्लेख्य कार्य गर्दै आएको र अझै प्रभावकारी काम गर्दै जानेमा आफू आशावादी रहेको बताए ।
नेष्टका अध्यक्ष उमेश कुमार लामाको अध्यक्षतामा भएको साधारणसभामा सचिव सूर्यबहादुर थापाले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मीरा गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा हेल्भटास, कार्टा कार्यक्रम अधिकृत ज्योतिराम मिश्र, पोखरा उद्योग वाणिज्य संघकी सदस्य बिन्दु कोइराला सुवेदी, नेपाल स्वास्थ्यका लागि खानेपानी (नेवा), पोखराका क्षेत्रीय प्रबन्धक दिनेशकुमार उप्रेति लगायतले बोलेका थिए । संस्थाका उपाध्यक्ष शिवजी कोईरालाले स्वागत तथा सचिव सूर्यबहादुर थापाले संचालन गरेका थिए ।
संस्थाले २२ वर्षदेखि सामाजिक सुशासन र विकासका लागि काम गर्दै आएको संस्थाका कार्यकारी निर्देशक छवि गौडेलले बताए । संस्थाले सीप हस्तान्तरणद्वारा सशक्तिकरण गर्न ९ सय ८० जनालाई बिभिन्न किसिमका ३९ वटा तालिम प्रदान गरेको छ भने हाल संस्थाले दुई वटा परियोजनामा काम गर्दै आएको छ । नेष्टले हाल ’सुनौला हजार दिन’ अभियान अनुरुप नेपालका १० जिल्लामा काम गर्दै आएको छ । खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न संस्थाले अर्घाखाँची र रौतहटमा काम गरिरहेको छ ।

