
काठमाडौं । आईसीसी टि-ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । सिंगापुरमा जारी प्रतियोगिता अन्तर्गत आज नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ९ ओभरमा सीमित गरिएको थियो ।
मलेसियाले पहिले ब्याटिङ गर्दै ९ ओभरमा सात विकेटको क्षतिमा ८३ रन बनाएको थियो । नेपालले तीन विकेट गुमाएर आठ ओभरमै लक्ष्य हासिल गरेको हो ।
प्रतियोगितामा नेपाल र कतारसहित आयोजक सिंगापुर, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । प्रतियोगितामा पाँच वटै टिमले दुई–दुई खेल सकेका छन् ।
हालसम्म सिंगापुरले दुई खेलबाट तीन अंक बटुल्दै शीर्ष स्थान कब्जा गर्दा मलेसिया, नेपाल र कतारले समान नतिजाका साथ दुई–दुई अंक हासिल गरेका छन् । कुवेतले भने एक अंकमात्र हासिल गरेको छ । यसअघि कतारसँग चार वोकेट्ले पराजित भएको नेपालले शनिबार तेस्रो खेल कुवेतसँग खेल्नेछ ।
File Photo
