
सप्तरी । लगातारको वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले सप्तरीको गोबरगाढाका झण्डै आठ सय परिवार डुबानमा परेका छन् । बाढीका कारण जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका आठ सय परिवार डुबानमा परेको हो । त्यहाँका प्रत्येक घरमा करिब ५ – ६ फिटसम्म पानी जमेको छ ।
लगातारको वर्षाका कारण गोबरगाढाबाट ६१ परिवार ज्यान जोगाउन हनुमाननगरको बाँधमा आएर बसिरहेका छन् । ६१ बाढी पीडित परिवारलाई हनुमाननगनर कंकालिनी नगरपालिकाको सहयोगमा वडा कार्यालयले चिउरा, भुजा ,त्रिपाल, नुन, चाउचाउ, खाने तेललगायतका सामग्रीहरु वितरण गरेको वडाध्यक्ष बिन्देश्वरी यादवले जानकारी दिए । गोबरगाढाबासीहरु बर्सेनि बाढीको चपेटामा पर्दै आएका छन् ।
बाढीकै कारण हनुमाननगर कंकालिनी नगरपालिका – ११ इनरुवाका १५ परिवार विस्थापित भएका छन् । त्यस्तै, जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा करिब एक हजार घर तथा गाउँपालिका कार्यालय समेत डुबानमा परेको बताइएको छ ।
