
चितवन – वर्षाका कारण चितवनको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको संख्या घटेको छ । गएका वर्षहरुको तुलनामा वर्षाको समयमा यो वर्ष पर्यटक घटेका हुन् ।
वर्षाको समय भएको र अन्य क्षेत्रमा पनि पर्यटकीय गन्तव्य विस्तार भएको कारण पर्यटक आगमन कम भएको पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटक नहुँदा राप्ती नदी किनारमा रहेका रेष्टुरेन्टहरु सुनसान भएका छन् ।
असार महिनाको सुरुवातदेखि घट्दै गएको पर्यटकको संख्या साउन महिनाको पहिलो सातासम्ममा अत्यन्त कम भएको छ । त्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सबैभन्दा बढी समूहमा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक घटेका छन् ।
वर्षाका कारण जंगल र डुङ्गा सफारी सहज नहुने भएकाले पर्यटक घटेको उनको भनाइ छ । पर्यटक निकै कम भएपछि केही होटलले मजदुरलाई सहमतिमा बिदा दिइरहेका छन् ।
गत वर्ष वर्षाको समयमा दैनिक १५० पर्यटक गाडीमा जाने गरेको तथ्यांक छ । तर, यो वर्ष दैनिक एक सय पर्यटक पुग्न मुस्किल भएको पर्यटन व्यवसायी बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जले गएको असार २१ गतेदेखि जङ्गल सफारी बन्द गरेको छ ।
