
पोखरा । गायक रामभक्त जोजिजुको नयाँ गीत “मायालाई ढाका पछौरी” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि संस्कृतिकर्मी प्राज्ञ तिर्थ श्रेष्ठले म्युजिक भिडियोलाई सार्वजनिक गरे ।
उक्त अवसरमा बोल्दै श्रेष्ठले गीतमा रामभक्तको आवाज असाध्यै खुलेको र तारिफयोग्य रहेको बताए । यो गीतले रामभक्तको साँगीतिक यात्रामा नयाँ आयाम थपेको समेत उनले बताए । उनले भने – “रामभक्तका गीतहरु नाँच्न मिल्ने खालका छैनन् भन्ने कुरा उठ्थ्यो,तर यो गीत सुन्दा,हेर्दा मलाई पनि नाचौँ–नाचौँ बनायो ।, यो रामभक्तको साँगीतिक यात्रामा नयाँ आयाम हो ।”
कार्यक्रममा गीतको बारे जानकारी गराउदै रामभक्त जोजिजुले समयको परिवर्तन सँगै गीत संगीतको बजार पनि खर्चिलो हुँदै गएको बताए । “अहिले सामान्य खर्चमा स्थरिय गीत निर्माण गर्न निकै कठिन छ, सामान्य खर्चमा गीत नबन्ने होइन तर स्थरिय बनाउन सकिन्न ।” सामान्य कलाकारले राम्रो गीत बनाउन अहिलेको गीत संगीतको बजारले निकै असर गर्ने उनको भनाई थियो ।
गायक रामभक्त जोजिजुको एकल स्वरमा रहेको उक्त गीतमा नायिका प्रियंका कार्की र निराजन प्रधानको अभिनय देख्न सकिन्छ । उक्त गीतमा उमेश सिकेको शब्द,संगीतकार राजनराज शिवाकोटीकोे संगीत,राजन ईशानको संगीत संयोजन रहेको छ । यस्तै, निकेश खड्काको निर्देशन,बुद्ध थापाको छाँयाकन तथा सुमन थापाको कोरियोग्राफी रहेको छ ।
