अनिशालाई आफ्नै विद्यालयको सहयोग, सहयोगका लागि परिवारको अपिल

Share:

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ मा रहेको पञ्चमुनिदेव मा.वि ले आफ्नो विद्यालयमा अध्यनरत एक विद्यार्थीलाई सहयोग रकम हस्तान्तरण गरेको छ । झरना हेर्न जाँदा घाइते भएकी अनिशा थापाको परिवारलाई विद्यालयले सहयोग गरेको हो ।

विद्यालयको कक्षा ११ मा अध्ययनरत १५ वर्षिया थापा गत शनिबार तनहुँको भिमादमा रहेको थाङ्दि झरना हेर्ने क्रममा झरना माथि बाट खसेको ढुंगा लागि गम्भीर घाइते भएकी थिइन् ।

झरनाबाट खसेको ढुंगाले लागि उनको टाउको, ढाड, मेरुदण्ड र कोखमा गम्भीर चोट लागेको छ । घाइते थापालाई उपचारका लागि काठ्माण्डौको धुलिखेल अस्पताल लगिएको छ ।

उपचारमा संलग्न चिकित्सकले उनको मेरुदण्ड भाँचिएको र दाहिने हात खुट्टामा गम्भीर समस्या देखिएको बताएका छन् । परिवारले उपचारका लागि आर्थिक समस्या परेको बताएपछि विद्यालयले थापाको परिवार लाई सहयोग गरेको हो ।

विद्यालयले आफ्ना विद्यार्थी र शिक्षक–शिक्षिकाबाट सहयोग उठाइ घाइते थापाको परिवार लाई ६३ हजार ४ सय ३३ रुपैयाँ सहयोग गरेको विद्यालयका सूचना अधिकारी लक्ष्मण पुरीले जानकारी दिए ।

विद्यालयका प्राचार्य ध्रुव कुमार मल्लले घाइते थापाकी दिदी आशा थापा लाई सहयोग रकम प्रदान गरेका हुन् । रकम बुज्दै थापाले घरको आर्थिक अवस्था कमजोर रहेकोले उपचार नहुने जस्तो अवस्थामा विद्यालयले सहयोग गर्दा केहि सहज भएको बताईन् ।

उनले अरु बाट पनि सहयोगको आशा रहेको बताउँदै भनिन् “यो सहयोगले केहि सहज बनाएको छ, यसरी नै सबैबाट सहयोग प्राप्त गर्ने आशा गरेका छौं ।” थापाको परिवारले सबैसँग सहयोगको आशा रहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: