फेवातालमा शव भेटियो, पहिचान हुन सकेन

Share:

पोखरा । पोखराको फेवातालमा बिहिबार बिहान शव फेला परेको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार पोखरा-६ खपौंदी क्षेत्रमा एक पुरुष मृत भेटिएका हुन् ।

उनको हालसम्म पहिचान हुन सकेको छैन । अन्दाजी ३५ वर्षका पुरुषको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

अण्डरवेयर मात्र लगाएको अवस्थामा भेटिएकाले पौडी खेल्न जाँदा डुबेको अनुमान प्रहरीको छ ।

‘शव दुई दिन जत्तिको हुनसक्छ । अण्डरवेयर मात्र लगाएको अवस्थामा भेटिएकाले पौडी खेल्न जाँदा डुबेको अनुमान गरेका छौं । स्थानीयले हिजोसम्म किनारमा कपडा देखेका पनि भनेका छन् । शरीरमा अन्य चोटपटक नभएको हुनाले पौडी खेल्न जाँदा नै डुबेको जस्तो छ । पोष्टमार्टम गरेपछि नै के भएको हो भन्ने थाहा हुन्छ ।’ डिएसपी शाहले भने ।

पोखराको फेवाताल, बेगनास तालमा वर्षेनी पौडी खेल्दा तथा डुंगा शयरका क्रममा डुबेर ज्यान जाने घटना हुने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
Share: