गोकुल बानियाँ पोखरा ३० असोज । कार्तिक अन्तिम साता पोखरामा थप दुई नयाँ दमकल भित्रने भएको छ । पोखरा उपमहानगरपालिकाको भगिनी सम्बन्ध कायम रहेको चिनको कुनमिङ नगरपालिकाले उपलब्ध गराउन लागेको दुई ओटा दमकल तयार भएका छन् ।
नेपाल चिन जनमैत्री संघका अध्यक्ष बिश्व शंकर पालिखेका अनुसार ६ हजार लिटर क्षमताका दुई ओटा नयाँ दमकल कार्तिक अन्तिम सम्ममा पोखरा आईपुग्नेछ । तयारी अबस्थामा रहेको दमकल नोभेम्बर २ अर्थात् कार्तिक १६ गते सम्म खासामा आईपग्ने र त्यसको झण्डै १० दिनमा पोखरा आईपुग्नेछ ।
दमकल पोखरा भित्रिएपछि कुनमिङ नगरपालिकाका प्रमुख सहितका पदाधिकारीको टोली पोखरा आएर बिशेष कार्यक्रमका बिच दमकल हस्तान्तरण गरिने पालिखेले बताए । नयाँ दमकलले १० तला माथि सम्म आगो नियन्त्रण गर्न सक्ने उनले जानकारी दिए ।
दमकल सहयोग सम्झौतामा पोखरा उपमहानगरपालिकाको तर्फबाट तत्कालिन कार्यकारी अधिकृत झलकराम अधिकारीले हस्ताक्षर गरेका थिए । रोटरी क्लब मार्फत बेलायतको सहयोगमा पोखरामा झण्डै २० बर्षपछि गत असार ३२ गते नयाँ दमकल थपिएको थियो ।
२०५२ सालमा ल्याईएको दमकलले प्रभाबकारी सेवा दिन नसकेको गुनासो आईरहेको बेला भित्रिएका नयाँ दमलकले पोखरा र यस आसपासको क्षेत्रमा हुने आगलागीका घटना नियन्त्रणको काम प्रभाबकारी हुने बिश्वास गरिएको छ । दुई नयाँ दमकल भित्रिएपछि पोखरामा दमकलको संख्या चार पुग्नेछ ।
