
ग्लोबल टि-२० लिग क्यानडा अन्तर्गत आफ्नो पाँचौ खेलमा सन्दिप लामिछानेको टिम टोरोन्टो नेसनल्सले दोश्रो जित हाँसिल गरेको छ ।
सोमबार बिहान सम्पन्न खेलमा मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेपछि टोरोन्टो अंकतालिकाको चौथो स्थानमा उक्लेको छ। सोमपाल कामिको टिम विन्नीपेग हक्सको पनि ५ खेलमा २ जित र ३ हार रहेता पनि नेट रन रेटको आधारमा टोरोन्टो माथि रहेको छ।
सबै टिमले ५/५ वटा खेल खेलेपछि ग्लोबल टि-२० लिगको लिग चरणको खेलहरु सकिएको छ र अब प्लेअफ चरणको खेलहरु मंगलबार देखि सुरु हुनेछ।
अब प्रतियोगिताको दोश्रो चरणको खेलमा अंकतालिकाको शिर्षस्थानमा रहेको ब्राम्पटनले छैठौं स्थानको टिम एडमोन्टन रोयल्ससंग, दोश्रो स्थानको टिम भानकुभर नाइट्सले पाँचौ स्थानको टिम विन्नीपेग हक्ससंग तथा तेश्रो स्थानमा रहेको टिम मोन्टरियल टाइगर्सले चौथो स्थानको टिम टोरोन्टो नेसनल्ससंग खेल्नेछ। ३ वटा खेल सम्पन्न भएपछि अंकतालिकामा उत्कृस्ट ४ टिम प्ले-अफ चरण प्रवेश गर्नेछ।
अब सोमपालको टिम विन्नीपेगले भोलि मंगलबार राति २:१५ बजे भानकुभरसंग र टोरोन्टोले बुधबार राति १०:१५ बजे मोन्टरियलसंग खेल्नेछ।
सन्दिपको राम्रो कमब्याक
पहिलो खेलमा १ विकेट लिए पनि महँगो सावित भएका नेपाली स्पिनर सन्दिप लामिछानेले दोश्रो खेलमा भने राम्रो कमब्याक गरे। सन्दिपले ब्राम्पटन बिरुद्ध ४४ रन खर्चेर १ विकेट लिएका थिए जुन उनले अन्तर्राष्ट्रिय टि-२० लिगमा गरेको महँगो मध्येको स्पेल थियो।
टोरोन्टोले टस जितेर बलिंग रोजेपछि ब्याटिंग गरेको मोन्टरियल टाइगर्सले २० ओभरमा ९ विकेट गुमाएर मात्र १३६ रन बनाउन सक्यो। उसको लागि कायल कोट्जरले सर्वाधिक २६ रन बनाए। दिनेश चण्डीमाल ५, जर्ज बेली १५, थिसरा परेरा १७ रन बनाएर आउट भए।
टोरोन्टोको बलिंगमा क्रिस ग्रिन र सलमान नजरले २/२ विकेट लिए। सन्दिप लामिछाने, जेरेमी गोर्डन र मिचेल म्याकलेनघनको नाममा १/१ विकेट रह्यो।
सन्दिपले मोन्टरियालका विकेटकिपर ब्याट्सम्यान म्याथु क्रसको विकेट लिए। स्कटल्याण्डका म्याथु ९ रनको स्कोरमा एलबिडब्लु शिकार भए।
