पोखरा औद्योगिक क्षेत्रको ४१ औं वर्षमा, लेखनाथ पट्नेरीमा औद्योगिक क्षेत्र निर्माणका लागि अध्ययन हुँदै

1214
0
Share:

रञ्जन अधिकारी पोखरा, ३१ असोज / पोखराको औद्योगिक क्षेत्र स्थापना भएको ४० वर्ष पुगेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले शुक्रबार ४१ औं वार्षिकोत्सव कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्र थापाले पोखरामा थप उद्योग निर्माणका लागि उद्योगमन्त्री महेश बस्नेतको आग्रह बमोजिम लेखनाथमा जग्गाको अध्ययन कार्य भईरहेको जनाए ।

“उद्योगमन्त्रीलाई लेखनाथ उद्योग वाणिज्य संघले सिफारिस गरेको पट्नेरी क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि अध्ययन भईरहेको छ ।” थापाले भने– “एक टोलीले निरीक्षण पनि गरिसकेको छ । नदि किनार भएकाले लागत धेरै लाग्ने देखिन्छ ।” उनले पोखरा पर्यटकीय नगरीकै चिनारीले चिनिनुपर्नेमा आफ्नो जोड रहेको भन्दै औद्योगिक नगरीका लागि आवश्यक पूर्वाधारयुक्त स्थान भएको पनि बताए ।

लोडसेडिङ समस्याले उद्योग क्षेत्र आक्रान्त बनिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले उद्योगहरुलाई एकीकृत सम्पति कर लागू नगर्न स्थानीय निकायको ध्यानाकर्षण पनि गराए । नेपालका १० औद्योगिक क्षेत्रको स्तरोन्नति, मर्मत सुधार तथा विकासका लागि आफूहरु लागिपरेको उनको भनाई छ ।

औद्योगिक क्षेत्रमा उद्योग प्रवद्र्धनका लागि पहिले कम भाडा लिने गरेकोमा समयानुकूल वृद्धि गर्नुपर्ने तर उद्योगीहरुले असहयोग गरेको उनले गुनासो पनि गरे । उद्योगबाट निस्कने ढल समस्याका लागि पनि बजेट छुट्याईरहेको तर प्रभावकारी काम नहुँदा स्थानीयबासीको गुनासो सुनिएको उनले उल्लेख गरे ।

विशेष अतिथि कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले अब पोखरा औद्योगिक क्षेत्रमा थप उद्योग सञ्चालन गर्न जग्गा अपुग भएकाले लेखनाथमा सञ्चालन गर्न सके पोखरा औद्योगिक नगरीका रुपमा विकास हुने बताए । “पोखरालाई औद्योगिकमैत्री वातावरण निर्माण गर्न जरुरी छ ।” उनले भने ।

पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बरालले पोखरा उद्योगका क्षेत्रमा खस्कँदै गएको तथ्यलाई स्वीकार गर्नुपर्ने भन्दै यो क्षेत्रले समयानुरुप विकास गर्न नसक्दा पोखरा पर्यटकीय नगरी, आवासीय नगरी, फेशन नगरीमै सीमित हुने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाले यहाँका उद्योगपतिहरुको गतिविधि सराहनीय भन्दै खुल्ला र एकान्त स्थानमा औद्योगिक क्षेत्र निर्माण हुनुपर्नेमा जोड दिए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले पर्याप्त उर्जा, उद्योगमैत्री श्रम ऐन ल्याउन राज्य गम्भीर बन्नुपर्ने भन्दै लेखनाथमा उद्योग निर्माणका लागि संघ सदैव सहयोग गर्न तयार रहेको बताए ।

पोखरा औद्योगिक क्षेत्रका कामु प्रबन्धक नेपालभुषण दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण पश्चिमाञ्चल क्षेत्रीय निर्देशक राम्जी भण्डारी, नेपाल औद्योगि क्षेत्र उद्योग महासंघका महासचिव बलभद्र नकर्मी, पश्चिमाञ्चल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष चन्द्रबहादुर राजभण्डारी लगायतले बोलेका थिए । कार्यक्रमका सञ्चालन बिमला भण्डारीले गरेकी थिईन् ।

सो अवसरमा पोखरा औद्योगिक क्षेत्र स्मारिका २०७१ विमोचन समेत गरिएको थियो । १०४ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा ८२ वटा उद्योगहरुमा छन् । हाल ६४ उद्योग मात्र सञ्चालनमा छन् भने १२ ओटा उद्योगहरु बन्द अवस्थामा छन् । निर्माणाधिन उद्योग ६ ओटा छन् ।

कमेन्ट गर्नुहोस्
Share: