
पोखरा । कास्की प्रहरीले नियमविपरित होटल व्यवसाय गर्ने एक सञ्चालकलाई पक्राउ गरेको छ । पोखरा–८ पृथ्वीचोकमा रहेको होटल कोशी एण्ड रितिक रेष्टुरेन्टकी सञ्चालिका ममतादेवी महतो मंगलबार पक्राउ परेकी हुन् ।
नियमअनुसार ग्राहकको अभिलेख नराखेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी महतोलाई कानुनी कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पोखरा पठाइएको कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
होटल सञ्चालक महतोले गत जेठ ३० गते भारत घर भएका ३ जनालाई होटलमा बास दिएर कुनै अभिलेख नराखेको पाइएको छ । उनको होटलमा बास बसेका समेतको योजनामा असार १ गते लक्ष्मी परियारको हत्या भएको अनुसन्धानबाट खुलेको छ ।
गत असार १ गतेदेखि हराइरहेकी लक्ष्मीको पोखरा महानगरपालिका-२२ को कर्कले जंगलमा असार २५ गते शव फेला परेको थियो। हत्यामा उनकै श्रीमान रमेश नेपालीको प्रत्यक्ष संलग्नतामा रहेको अनुसन्धानबाट खुलेको थियो । रमेशले भारतीय कन्ट्रयाक्ट किलरको सहयोगमा लक्ष्मीको हत्या गरेका थिए ।
यसरी भएको थियो लक्ष्मीको हत्या
– मिति २०७६।०३।०१ गते देखि कालिकाचोकबाट हराईरहेकी मेरी श्रीमती लक्ष्मी नेपालीको खोजतलाश गरि पाउ भनि रमेश नेपालीले मिति २०७६।०३।०२ गते यस कार्यालयमा निवेदन दिएको ।
– मिति २०७६।०३।११ गते लक्ष्मी नेपालीको आमा पिठुमाया परियारले यस कार्यालयमा खोजतलाश तथा कारवाही गरिपाउ भनि निवेदन दिएको ।
– निवेदन परेकै दिनबाट प्रहरीले खोजतलाश तथा अनुसन्धान कार्य शुरु गरेको ।
– अनुसन्धानको क्रममा लक्ष्मी नेपालीको श्रीमान रमेश नेपाली कै संलग्नता देखिएकोले २०७६।०३।२५ गते पक्राउ गरी थप अनुसन्धान अगाडी बढाइएको ।
– रमेश नेपालीले आफ्नै योजनामा लक्ष्मी नेपालीको हत्या गरी मृतक लाशलाई फालेको स्वीकार गरी घटनास्थल (पोखरा म.न.पा.बडा नं २२ स्थित कर्कले जंगल) समेत देखाई घटनास्थलमा प्राप्त मानव कंकाल सनाखत गरेको ।
– रमेश नेपालीको साली नाता पर्ने अनु परियारसंग सम्बन्ध रहेको कुरा बाहिर ल्याएको र आफ्नो बदनाम भएकोले अब दिदीलाई साइड लगाईदिनुस भनि भेनाजु नाता पर्ने रमेश नेपालीलाई १ बर्ष अगाडी भनेको ।
– सोही दिनबाट श्रीमतीलाई मार्ने योजना बनाउदै आएको ।
– एकजना महिलाको हत्या गर्नुपर्ने र सो बापत राम्रो रकम आउने कुरा रमेश नेपालीले मोबाईल पसल संचालन गर्दै आएका संजय शर्मालाई भनेको
– ततपश्चात हत्याको योजना बनाएको ।
– योजना मुताविक जिल्ला सर्लाही ईश्वरपुर न.पा.बडा नं ३ तिनघरिया घर भई हाल पोखरा-९ पृथ्वीचोकमा मोवाईल पसल संचालन गरी बस्ने चितरन्जन साह मार्फत रु. १० लाखमा भारतबाट मान्छे झिकाउने सल्लाह भएको ।
– मिति २०७६।०२।३० गते ३ जना भारतियहरु आई पोखरा-९ पृथ्वीचोकमा रहेको कोशी होटलमा बसेको । होटलवालाले मानिसको रजिष्ट्रेशन ईन्ट्री नगरेको ।
– होटलमा बस्ने ब्यवस्था संजय शर्मा र चितरन्जन शाहले मिलाएको ।
– मिति २०७६।०२।३१ गते तयारीको लागि रमेश नेपालीले संजय शर्मालाई १ लाख रुपैया दिएको ।
– मिति २०७६।०२।३१ गते हत्या गर्ने स्थान चयनको लागि पोखरा-२२ स्थित कर्कले जंगलमा रमेश, संजय, चितरन्जन र तिन जना भारतिय गई योजना बनाई फर्केको ।
– २०७६।०३।०१ गते बिहान रमेश नेपाली संजय शर्माको पसलमा आई दुबै जना हल्लनचोकमा रहेको पोखरा बाईक रेन्ट प्रा.लि. मा गई स्कुटर भाडामा लिएको । स्कुटर नं. ग ११ प ८००३
– स्कुटर भाडामा लिए पश्चात पोखरा-९ नयाँबजारमा रहेको दिपक कार डेकोरबाट ग १ च २३६३ नं. को कार भाडामा लिई संजय शर्माले गाडी चलाई कोशी होटलमा गई ३ जना भारतिय र चितरन्जन शाह समेतलाई गाडीमा हाली कर्कले भन्ने जंगलतर्फ गएको ।
– रमेश नेपालीले स्कुटर लिई आफ्नो मोबाइल पसलमा गई श्रीमतीलाई खुट्टामा भएको एलर्जी निको पार्ने जडीबुटी खोज्न जंगलतर्फ जाउँ भनि फकाई पोखरा-२२ स्थित कर्कले जंगलमा लगी केही समय जडिबुटी खोजेको ।
– जडिबुटी खोज्ने क्रममा रमेश नेपालीले आफुलाई पिसाव लाग्यो तिमी खोज्दै तल जानु भनि लक्ष्मी नेपालीलाई जंगलको तलतर्फ पठाएको र योजना मुताविक लुकेका ब्यक्तिहरुले मुख र आखामा सल बाधी चक्कुले घाटी रेटी हत्या गरेको ।
– मृतक लाश जंगलमा नै छोडी रमेश नेपाली माथि बाटोमा आई संजय शर्मालाई ५ लाख दिएको र ४ लाख केही दिन पछि दिने भनेको ।
– सोही दिन हत्या गर्ने ब्यक्तिहरु भारततर्फ गएको र बाकी रकम चित्त्तरञ्जन मार्फत पठाउने सहमती भएको ।
– हत्याको केही समय पछि रमेश नेपालीले बिभिन्न ब्यक्तिहरुलाई फोन गरी श्रीमती हराएको जानकारी गराएको ।
– बिभिन्न मिति र समयमा प्रहरी कार्यालय आई श्रीमती खोजिदिन अनुरोध तथा दवाव दिएको ।
– बिभिन्न मिति र समयमा बिभिन्न मिडियामा समेत खोजतलाशमा सहयोग गरिदिन बिलौना गर्दै हिडेको ।
