एक वर्षमा २६ हजार बढी भारतीयले घुमे महेन्द्र र चमेरे गुफा

Share:

पोखरा । पोखराकै प्रसिद्घ महेन्द्र गुफा र चमेरे गुफामा भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ । प्राकृतिक गुफाको रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५-०७६ मा उल्लेख्य रुपमा भारतीय पर्यटकले अवलोकन गरेको महेन्द्र गुफा र चमेरे गुफा सचिवालयले जनाएको छ।

गत आर्थिक वर्षमा महेन्द्र गुफामा मात्रै ८४ हजार ६ सय १२ जना र चमेरे गुफामा ४२ हजार ८ सय ५४ जना पर्यटक भित्रिएको सचिवालयका अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिएका छन्। अघिल्लो आ.व २०७४-०७५ मा भन्दा यस आ.वमा दुवै गुफामा गरी २६ हजार ७ सय ३० जना भारतीय पर्यटकको संख्यामा वृद्धि भएको हो ।

यस आ.वमा स्वदेशी र विदेशी पर्यटकको संख्या केही घटे पनि सार्क मुलुक मध्ये भारतबाट आउने पर्यटकको संख्या वृद्धि भएको पौडेलले वताए । यस आ.वमा दुवै गुफाबाट ३ करोड भन्दा बढी आम्दानी समेत भएको छ । पछिल्लो समय गुफा क्षेत्रको आन्तरिक व्यवस्थापनमा केही सुधार भएका कारण पनि आम्दानी सँगसँगै खर्चमा पनि वृद्धि भएको बताईएको छ ।

बाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विको स्वामित्व तथा संरक्षकत्वमा संचालित दुवै गुफाको वृहत र व्यवस्थित विकासका लागि गुरुयोजना समेत निर्माण भएको छ । गुफा क्षेत्रलाई थप आकर्षित बनाउन गुरुयोजना अनुसार नै काम सुरु गरिने महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक यदुनाथ वञ्जराले बताए।

पर्यटकको सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिएको गुफामा अव छिट्टै फ्रि वाई- फाई सेवा संचालनमा ल्याईने वञ्जराले जानकारी दिए । गुफाबाट प्राप्त आम्दानीले त्यस क्षेत्रको मात्र नभई आसपासको भौतिक तथा पर्यटकीय विकासका लागि पनि आफुहरुले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वताए ।“गुफाको भौतिक विकाससँगसँगै त्यस क्षेत्रको सडक, नाला निर्माण तथा फोहर व्यवस्थापनको लागि पनि सहयोग गरेका छौं” आचार्यले सुनाए ।

त्यस क्षेत्रको फोहर व्यवस्थापनको लागि विद्यालय र वडा कार्यालयको समन्वयमा डस्टविन राख्ने कार्य समेत भएको छ । गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्न प्रारम्भिक रुपमा ५० लाख रुपैंया विनियोजन गरी कार्य शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले बताइन् ।

गुरुयोजना अनुसार सबै कार्य सम्पन्न गर्न भने केहि समय लाग्ने उनको भनाई छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष मनाईरहँदा वाहृय पर्यटकको आगमन वृद्धि हुनुले पनि पर्यटन क्षेत्रमा उत्साह थपेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: