नेपाललाई हिन्दु राष्ट्र नै बनाउनुपर्नेमा राप्रपा

Share:

रञ्जन अधिकारी पोखरा, १ कार्तिक / नेपालमा ८२ प्रतिशत नागरिक हिन्दु धर्म मान्ने भएकाले हिन्दु राष्ट्र नै हुनपर्ने पार्टीको नीति भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्पष्ट पारेको छ । पहिलो संविधानसभाले हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्ष घोषणा गरेपनि संविधान जारी हुन नसकेपछि सम्पन्न दोस्रो संविधासभाको निर्वाचनपछि राप्रपा नेपालसँगै ठूलो पार्टी नेपाली काँग्रेसकै एक खेमाका नेताहरु पनि हिन्दु राष्ट्र ब्युताउँने अभियानमा छन् ।

राप्रपा केन्द्रिय प्रशिक्षण विभागद्वारा पोखरामा आयोजित पश्चिमाञ्चल प्रशिक्षण शिविरको दोस्रो दिन शनिबार कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष पशुपति शमशेर राणाले पार्टीले हिन्दु राष्ट्रको अडान नछाड्ने स्पष्ट पारेका हुन् । ‘राप्रपा हिन्दु राष्ट्र नेपालको पक्षमा छ ।’ राणाले भने– ‘८२ प्रतिशत हिन्दु भएको मुलुक हिन्दु राष्ट्र नै हुनुपर्छ ।’

index

सामथ्र्य भूगोलका आधारमा न्युनतम संख्यामा प्रदेशहरु बन्नुपर्ने भन्दै उनले यो मुलुकले एकल जातीय नामका आधारमा प्रदेशहरु स्विकार्न नसक्ने स्पष्ट पारे । ‘राप्रपाकै यो सोचमा संविधानसभामा दुई तिहाई बहुमत छ ।’ राणाले थपे– ‘तर अर्को विचारधारालाई पनि समेट्नुपर्ने योजनाका साथ सहमतिका पहलहरु भईरहेका छन् । सहमतिमा पुगेन भने प्रक्रियामा जानुकाु विकल्प छैन ।’

उनले स्थानीय निकायका निर्वाचनमा पार्टीको उपस्थिति दह्रो बनाउन आ–आफ्ना क्षेत्रमा लाग्न पार्टी कार्यकर्ताहरुलाई आग्रह पनि गरे । ‘निर्वाचनमा हाम्रो पार्टीले बढि भन्दा बढि जित्ने तरिकाले काम सुरु गरौं ।’ उनले भने– ‘पार्टी भित्रको विवादलाई मिलाउँदै पार्टीको पूरानो छवि फर्काउनुपर्नेमा सक्रिय बन्नुपर्नेछ ।’ राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी एकीकरण भएपछि राजपा अध्यक्ष सूर्यबहादुर थापा एक वर्ष अध्यक्ष भएकोमा उनले पद त्याग गरेपछि आफू अध्यक्ष भएको उनले स्पष्ट पारे । लोकेन्द्रबहादुर चन्द पनि आफै अध्यक्ष भएको दाबी गर्दैै आएका छन् । राणाले विधान अनुसार नै आफू अध्यक्ष भएको प्रष्ट पारेका छन् ।

राप्रपाका केन्द्रिय सदस्य कमलमान गुरुङले यस्ता प्रशिक्षण भेला राष्ट्रब्यापी बनाउनुपर्नेमा जोड दिँदै केन्द्रका समस्या मिलाएर जिल्लामा सुधार्न सुझाव दिए । केन्द्रिय प्रशिक्षण विभागका संयोजक भुवन पाठक, विभागका सदस्य सुमेश्वरनाथ उपाध्याय, कास्की जिल्ला अध्यक्ष जेबी कुँवर लगायतले बोलेका थिए ।

असोज ३१ देखि कार्तिक २ गतेसम्म आयोजित प्रशिक्षणमा पश्चिमाञ्चलका १६ जिल्लाका पार्टी अध्यक्ष, सचिव तथा प्रतिनिधिहरु सहभागी छन् । शनिबार स्टेयरवे म्यानेजमेन्टका कार्यकारी निर्देशक तथा नेपाल जेसीजका पूर्व अध्यक्ष महेश दाहालले नेतृत्व विकास र राजनैतिक सञ्चारका विषयमा प्रशिक्षण दिए । आईटी एक्स्पर्ट विप्लवमान श्रेष्ठ, पार्टीका भुवन पाठक र सुमेश्वरनाथ उपाध्यायले प्रशिक्षण दिनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: