पोखराबाट दुई दिनमा साढे दुई लाख नगदसहित ४० जना जुवाडे पक्राउ

Share:

पोखरा । जुवा खेलिरहेको अवस्थामा पोखराका विभिन्न चार स्थानबाट दुई दिनमा ४० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले रु दुई लाख ५८ हजार ३ सय २० नगदसहित उनीहरुलाई पक्राउ गरेको हो।

पोखरा महानगरपालिका–५ पर्स्याङमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट आठ जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट रु १ लाख २१ हजार १ सय ४० र चार बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

पोखरा–८ नागढुङ्गास्थित नीरज होटलबाट जुवातास खेली रहेको अवस्थामा सात जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट रु ६२ हजार ८ सय ३५ बरामद गरिएको छ ।

त्यसैगरी पोखरा ३२ झैरीचोकस्थित एक गोठबाट ११ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट रु ३२ हजार ८ सय १५ बरामद भएको छ ।

यस्तै पोखरा-१६ दीपस्थित दुर्गा घलेको घरमा अवैध जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा आठ जना र पोखरा १० रामबजार होटल पर्वतबाट ६ जना पक्राउ परेका छन् ।

उनीहरुको साथबाट रु २५ हजार २ सय र रु ३६ हजार ३ सय ३० बरामद गरिएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भईरहेको छ ।

एक हप्ताअघि पनि पोखराकाे फुलबारी र हेम्जबाट १९ जना जुवाडे पक्राउ परेका थिए । उनीहरुको साथबाट रु १ लाख ९ हजार २ सय ५० र ९ बुक तास बरामद गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: