पोखरामा अवैध बसोबास गर्ने पर्यटकको संख्या बढ्यो, रूसका नागरिक धेरै

Share:

पोखरा – पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको आर्थिक वर्ष २०७५/७६ काे तथ्याङ्कअनुसार अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ ।

आव २०७४/७५ मा अवैध बस्ने पर्यटकको सङ्ख्या ६ जना रहेकोमा अहिले विदेशी पर्यटकमा निगरानी बढाएका कारण सो संख्या बढेर २२ पुगेको हो ।

यसमा रूसका नागरिक धेरै रहेको पर्यटक प्रहरीले जनाएको छ । लेकसाइड आसपासका क्षेत्रबाट पक्राउ परेका पर्यटकहरु मुख्यत रूस, लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्याण्ड, बेलायत, यमन, चीन, नेदरल्याण्डसका नागरिक रहेका छन् ।

पर्यटक प्रहरी प्रमुख भगवती तिमिल्सिनाका अनुसार पक्राउ पर्ने मध्ये अधिकांश पर्यटक शहर भित्रका होटलभन्दा बाहिर अपार्टमेन्ट र हामेस्टेमा बस्ने गरेको पाइएको छ । पक्राउ पर्ने त्यस्ता पर्यटकको राहदानी र प्रवेशाज्ञा पनि नभएको अनुसन्धानमा खुल्ने गर्दछ । पक्राउ गरेकाहरू कति यहीँ विभिन्न व्यवसायमा संलग्न रहेको भेटिने गरेको छ ।

फिलिपिन्सका नागरिक अल्बर्टले १९ वर्षदेखि कास्कीको ठूलाखेतमा कुखुरापालन व्यवसाय गर्दै आएको भेटिएको छ भने नेदरल्याण्ड्सका रुवेन १० वर्षदेखि लेकसाइडकै एक होटलमा गैरकानूनी रुपमा काम गर्दै आएको भेटिएको उनको भनाइ छ ।

आर्थिक रुपमा कमजोर रहेका पर्यटकहरू शहरभन्दा टाढा सुरक्षित स्थान खोजेर बस्ने गरेको होटल व्यवसायी संघका केन्द्रीय सदस्य भरतराज पराजुली बताउँछन् ।

कमेन्ट गर्नुहोस्
Share: