
रेम बिक पोखरा, २ कात्तिक । पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोशियसनको आयोजनामा तेस्रो सँस्करणको ‘सिटि रेवान महोत्सव’ आयोजना हुने भएको छ । सिटि रेवानले आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी दिएको हो । उसले कात्तिक १४ गतेदेखि २२ गतेसम्म महोत्सव संचालन हुने बताएको छ ।
यसअघि सँधै नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुँदै आएको महोत्सव यसपाली भने पोखरा रंगशालामा हुने भएको सिटि रेवानका अध्यक्ष केपी शर्माले बताए । ‘उद्योग वाणिज्य संघको महोत्सवको तयारी पुरा नहुने भएपछि यसपालि हामीले भेन्यू परिवर्तन गरेका हौँ ।’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने–‘महोत्सवको व्यवस्थापन र सहजताको हिसाबले हामीले रंगशालामा पनि दर्शकहरुलाई कुनै कमी महशुस हुन दिनेछैनौँ ।’ थप व्यवस्थित तवरले महोत्सव आयोजना गर्न लागेको उनले विश्वस्त बनाए ।
रंगशालामा हुने महोत्सव तथा फुड फेस्टिभलमा १ सय ५० वटा स्टल रहने संस्थाका महासचिव दिपक तिमिल्सिनाले जानकारी दिए । ‘अहिलेसम्म १ सय भन्दा बढि स्टल बुकिङ भैसकेका छन् ।’ उनले भने–‘यो पटक स्टलहरुमा पनि केहि भिन्दै खाले उत्पादनहरुलाई प्राथमिकतामा राखिएको छ ।’ रेस्टुरेन्टहरुकै आयोजनामा हुने भएकोले महोत्सवमा खानाका स्टलहरुलाई बढि महत्व दिईएको उनले बताए ।
महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुलाई पनि विशेष आकर्षणको रुपमा राखिएको छ । खानपिनसँगै मनोरञ्जन भन्ने थिममा सिटि रेवानले महोत्सव गर्ने बताएको छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, खुल्ला दोहोरी गीत प्रतियोगिता, विवाहित महिला तथा पुरुष नृत्य प्रतियोगिता, बाल उद्यान, मयुर नाच, घाटु नाच, पप कन्सर्ट हाँस्य व्यङ्ग जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु मेलाको आकर्षणमा रहेका छन् । यस्तै यो पटक नेपाली खानालाई प्रचार गर्ने उद्देश्यले आयोजकले ढिँडो खाने प्रतियोगिता पनि राखेका छन् । प्रतियोगितामा प्रथम हुनेले ५ हजार, दोस्रोले ३ हजार र तेस्रो हुनेले १५ सय रुपैँया प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
आयोजकले महोत्सवमा ४ करोड रुपैँया बराबरको कारोबार हुने अनुमान गरेको छ । उसले ४० लाख रुपैँया आम्दानी गर्ने लक्ष्य राखेको छ । साथै आयोजकले सामाजिक उत्तरदायित्वको हिसाबले आम्दानीबाट खर्च कटाएर बचेको रकमको १० प्रतिशत रकम अनाथ बालबालिकाको लागि छुट्टाईने जानकारी दिएको छ । यस्तै २० प्रतिशत पर्यटन प्रबद्र्धनमा खर्च गरिने पनि उसले बताएको छ ।

