मिडियाकर्मीबीच फुटसल प्रतियोगिता : भिड्दैछन् सेलिब्रिटी र महिला पत्रकार पनि

Share:

बिग न्यूज
पोखरा, २८ साउन । पोखराको मिडिया र मिडियाकर्मीहरुबीच भाइचाराको विकास गर्ने उद्देश्यसहित फुटसल प्रतियोगिता हुने भएको छ । ‘पोखरा मिडिया कप’ शीर्षकमा जक्शन डटकम र सिक्स्टिन प्रोडक्शनले प्रतियोगिताको आयोजना गर्न लागेका हुन् । पहिलो सँस्करणको ‘पोखरा मिडिया कप’ बिग एफएमको प्रस्तुतीमा हुन लागेको हो ।

भदौको १० र ११ गते दुई दिनसम्म प्रतियोगिता चल्ने आयोजकले जानकारी दिएको छ । पोखरा गणेशटोलस्थित ‘स्पोर्टस क्यासल’मा प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

प्रतियोगितामा कुल ३० टिमको सहभागिता रहने आयोजकको अनुमान छ । ‘हामीले पहिलोपटक यस्तो प्रतियोगिता गर्दैछौँ । र, यसमा सम्पूर्ण मिडियाको साथ हामीले चाहन्छौँ ।’ जक्शन डटकमका संचालक अरुण गिरीले भने–‘कार्यक्रमलाई भव्य स्वरुप दिन हामीले निकै मेहेनतका साथ तयारी गरिरहेका छौँ ।’
प्रतियोगितामा प्रथम हुने समूहले ३५ हजार र दोस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘खासगरि हामीले मिडिया कपको गरिमा निकै भव्य होस् भन्ने चाहन्छौँ । र, ट्रफिलाई विशेष महत्व दिएका छौँ । नगद पुरस्कारको तुलनामा ट्रफिको भ्यालु धेरै माथि हुने हाम्रो मान्यता हो ।’ पत्रकार सम्मेलनमा प्रतियोगिताका सँयोजक समेत रहेका अरुण गिरीले भने ।

त्यस्तै उत्कृष्ट खेलाडिले ५ हजार, गोल रक्षकलाई २ हजार रुपैयाँ, अनुशासित टिमलाई ५ हजार रुपैयाँ र सर्वाधिक गोलकर्तालाई ३ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले बताएको छ ।

यो प्रतियोगिताकै समयमा नेपाली फिल्म क्षेत्रका सेलिब्रिटी महिला र पोखराका महिला पत्रकारहरुबीच मैत्रीपूर्ण खेल समेत हुने आयोजकले बताएको छ । र, यो खेल प्रतियोगिताको सबैभन्दा आकर्षक समय हुने आयोजकको दाबी छ । त्यस्तै आयोजकले मिडिया कपको प्रमोटरको रुपमा नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष त्रिभुवन पौडेललाई छनौट गरेको छ ।

पोखरा मिडिया कप वर्षेनी आयोजना गरिने आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: