मापसे गरेका प्रहरीले चलाएको बाईकको ठक्करबाट पुन गम्भीर घाईते

Share:

रञ्जन अधिकारी पोखरा, २ कार्तिक / मापसे जाँच गर्ने प्रहरीले नै दिनदहाडै आफैं मापसे सेवन गरी चलाएको मोटरसाईकलको ठक्करबाट एक युवती गम्भीर घाईते भएकी छिन् । पोखराको महेन्द्रपुलमा आईतबार दिउँसो पैदलयात्री अम्बिका पुनलाई प्रहरीले चलाएको मोटरसाईकलले ठक्कर दिएको हो । बाग्लुङ घर भएकी १९ वर्षीया पुन नोभा कम्प्युटरमा कार्यरत छिन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

ठक्कर लगत्तै घाईते पुनलाई ओम अस्पिटल पु¥याएका ट्याक्सी चालक अञ्जन अधिकारीले बिग एफएमलाई जानकारी दिए अनुसार उनलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ । ठक्कर दिने चालकको नाम र घाईतेको अवस्थाका बारेमा कास्की प्रहरीले जानकारी दिन मानेन ।

मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाएको भन्दै स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । कुटाईबाट चालक समेत सामान्य घाइते भएका छन् पछि उनी नेपाल प्रहरी भएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय अगाडी नै रक्सी खाएर उनी पालिखेचोकमा रहेको चेकिङ स्टाफ भएको भन्दै हिँडेको सर्वसाधारणले बताएका छन् । दोषी चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि केहिबेर स्थानीयले कारवाहीको माग गर्दै नाराबाजी गरेका थिए । चालकलाई नियन्त्रणमा लिएपछि स्थानीयमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

 

कमेन्ट गर्नुहोस्
Share: