
पोखरा ५ कात्तिक ।पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय बिमानस्थल बनाउन सरकार र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सकारात्मक रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले जनाएको छ । पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिन सरोकार समितिको नेतृत्वमा व्यवसायी, कास्कीका राजनीतिक दलका प्रमुख नेता तथा सभासदहरुको टोली राजधानी गएको थियो । प्रधानमन्त्री, अर्थ र पर्यटनमन्त्री तथा शीर्ष नेताहरुबाट एक महिनाभित्र पोखरामा विमानस्थलको शिलान्यास गर्ने प्रतिवद्धता पाएको समितिले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
दबाब टोलीले आइतबार र सोमबार राजधानीमा प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा–माओवादीका महासचिव रामबहादुर थापा र सचिव देब गुरुङसँग भेट गरेको थियो । भेटका क्रममा सबैले पोखरामा विमानस्थल बनाउनका लागि पहल गर्ने बताएको सरोकार समितिका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।
‘प्रधानमन्त्री सुशील कोइरालाले एक महिनाभित्र पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुने बताउनुभयो,’ थापाले भने, ‘आफूले विमानस्थल बन्ने स्थानकोसमेत निरीक्षण गरिसकेको बताउँदै प्रधानमन्त्री कोइरालाले जतिसक्दो छिटो विमानस्थलको शिलान्यास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’ पोखरामा विमानस्थल बनाउनका लागि प्रक्रिया मिलाउन प्रधानमन्त्रीले अर्थमन्त्रीलाईसमेत निर्देशन दिइसकेको जानकारी पाएको थापाले बताए ।
‘पोखरामा विमानस्थल बनाउनका लागि पहल गर्न अर्थमन्त्री डा. रामशरण महतसँग पनि आइतबार नै भेट ग¥यौं,’ थापाले भने, ‘भेटका क्रममा अर्थमन्त्रीले प्रक्रिया पुरा गरी तत्काल विमानस्थलको काम सुरुगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’ मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लगी अर्थमन्त्रालयले तत्काल विमानस्थल निर्माणको काम सुरु गर्ने अर्थमन्त्रीले बताएको थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।त्यसैगरी, पर्यटनमन्त्री दीपकचन्द्र अमात्यसँग पनि टोलीले भेट गरेको छ । भेटका क्रममा पर्यटनमन्त्रीले पोखरामा विमानस्थल निर्माण गर्नका लागि कुनै समस्या नरहेको बताएका थिए । टोलीले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरेको छ ।
टोलीले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आइतबार एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटेको थापाले जानकारी दिए । ‘भेटका क्रममा उहाँहरु दुबैले पोखरामा विमानस्थल बनाउन पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो,’ थापाले भने । टोलीले नेकपा–माओवादीका महासचिव रामबहादुर थापा र सचिव देव गुरुङसँग पनि भेटेको थियो । भेटका क्रममा उनीहरुले पनि सरकार र संविधानसभा बाहिर रहेपनि विमानस्थल बनाउन पार्टीले सहयोग गर्ने बताएका छन् । ‘विमानस्थल निर्माणका लागि सबै दलका नेता तथा सरकार सकारात्मक रहेको पाइयो,’ अध्यक्ष थापाले भने, ‘मंसिरभित्रमा विमानस्थलको शिलान्यास हुने भेटबाट हामीले आशा गरेका छौं ।’
पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरामा विमानस्थल बनाउन पछिल्लो समय सरकार सकारात्मक रहेको बताए । ‘विमानस्थल बनाउने कामको प्रगति भइरहेको छ,’ उनले भने । डेलिगेशनबाट पोखरामा विमानस्थल बनाउनका लागि ऊर्जा मिलेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीले बताए । डेलिगेशनमा सहभागी नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, एकीकृत नेकपा माओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, राष्ट्रिय पर्यटन परिषद्का सदस्य खगराज आचार्य, पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछाने लगायतले पोखरामा छिट्टै अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यस हुने दावी गरे । सरकार र सबै दल सकारात्मक रहेकाले पोखरामा छिट्टै बिमानस्थल बन्ने उनीहरुको विश्वास छ । पोखरामा विमानस्थल बनाउन सरकार सकारात्मक भएकाले विमानस्थल बन्ने स्थलको थप अधिग्रहण गरिएको जग्गाको उचित मुआब्जा तत्काल दिनुपर्ने संघका महासचिव रवीन्द्रबहादुर प्रजुले बताए ।
पोखरामा तत्काल विमानस्थल बनाउनका लागि दबाब दिन पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष तथा विमानस्थल निर्माण सरोकार समिति संयोजक विन्दुकुमार थापाको नेतृत्वमा राजधानी गएको टोलीमा सभासदहरु तुलबहादुर गुरुङ, यज्ञबहादुर थापा, सारदा पौडेल, सीता गिरी ओली, जीवन परियार, बिन्दा राना, तेजकुमारी पौडेल, डिवी नेपाली, चुडामणि जंगली, पूर्व सभासद राजकाजी गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरी, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछाने, राष्ट्रिय पर्यटन परिषद्का सदस्य खगराज आचार्य, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, एकीकृत नेकपा माओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, नेकपा–माओवादी कास्कीका अध्यक्ष सावित्री दुरा, पोखरा उद्योग वाणिज्य संघका कार्यसमति सदस्य अर्जुन पोखरेल, विश्वशंकर पालिखे, पत्रकार सुरेन्द्र पौडेललगायत सहभागी थिए ।

