५ कात्तिक,काठमाडौं, । आफुले समर्थन गरेको टिमले गोल गर्दा खुसी नलाग्ने कसलाई हुन्छ होला र ? तर, गोल गर्दाको खुसी मनाउने क्रममा नै ज्यानै जाला भन्ने पनि कसैले सोचेका हुदैनन् । तर, भारतको एक राज्य स्तरीय लिग मिजोराम प्रिमियर लिगको दौरानमा यस्तै दुःखद् घटना भएको छ । भारतको उत्तरपुर्वी क्लब वेथ्लेम भेङगथ्लाङका मिडफिल्डर२३ बर्षीय पिटर बियाकासाङजुआला चानमारी विरुद्धको खेलमा बराबरी गोल गरेपछि खुसी मनाउँदा ढाड भाँचिन पुगेको थियो ।
गोल गरेलगत्तै उनले हावामा जिम्नास्टिङ गरेका थिए । तर, जिम्नास्टिङ गर्ने क्रममा उनको ढाडको हाड भाँचिएको थियो । जर्मनीका चर्चीत स्ट्राइकर मिरोस्लाप क्लोसले विश्वकपका दौरानमा गोल गरेपछि मनाएको खुसीलाई नक्कल गर्न खोज्दा उनी गम्भीर दुर्घटनाको सिकार भए । हातले नटेकी हावामा उडेर पल्टी मार्ने क्रममा मैदानमै उनी लड्न पुगेका थिए । त्यसपछि मैदानमै लडेका उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरुले उनको शल्यक्रिया गरे पनि बचाउन भने सकेनन् । जुन खेलमा उनलाई चोट लागेको थियो त्यो मिजोरम प्रीमियर लीगको एक राज्यस्तरीय खेल थियो ।
मिजोरम प्रीमियर लीगको आधिकारीक फेसबुक पेजमा लेखिएको छ, ‘मिजोरमका फुटबल जगतको लागि यो दुःखद दिन हो । फुटबल खेलाडीको निधनले उनको टीमका सबै साथीहरु, खेलाडी तथा प्रशंसकहरुमा हलचल पैदा गरेको छ ।’ ‘पीटर एक रक्षात्मक मिडफिल्डर थिए । हमेशा आक्रामक खेल खेल्ने उनी एक सच्चा खेलाडी थिए,’ मिजोरमको फेसबुक पेजमा लेखिएको छ । पीटरले २१ नम्बरको जर्सि लगाएर खेल्थे । अबदेखि २१ नम्बर जर्सी कसैले पनि नलगाउने गरी बेथलेहम वेङ्गथलेङ्ग क्लबले निर्णय गरेको छ । बेथलेहम एफसी उत्तरपूर्व भारतको एक क्लब हो ।
भिडियो पनि हेर्नुहोस्
https://www.youtube.com/watch?v=twA7LcxZ5s0
