
पोखरा । मालपोत कार्यालय कास्कीका अधिकृत अविनाश कुँवर ५९ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ पोखराको मुस्ताङचोकबाट उनलाई नियन्त्रणमा लिएको हो ।
एक सेवाग्राहीलाई अनेक बाहना बनाउँदै कुँवरले जग्गा पास सम्बन्धी फाइल लुकाइदिने, ढिला गरिदिने गरेको खुलेको छ । विना झण्झट जग्गा पास गरिदिने र कर छुटसमेत गरिदिने प्रलोभन देखाई उनै सेवाग्राहीसँग घुस लिँदा लिँदै कुँवर समातिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालय श्रोतले जनाएको छ ।
सेवाग्राहीले नै केन्द्रिय कार्यालयमा सूचना दिएपछि केन्द्रबाट पोखरा कार्यालयलाई जानकारी प्रापत भएपछि अख्तियार टोली मुस्ताङचोक पुगेको थियो । बेलुकी ६ बजेतिर कुँवर मोटरसाइकलमा आए । सेवाग्राहीले गाडीबाट पैसा झिकेर दिन लागे । सोहि क्रममा कुँवरलाई नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
गत वर्ष २३ असोजमा मालपोत कार्यालय कास्कीबाटै ५० हजार घुससहित कर्मचारी ख्याम नारायण पौडेल र खरिदार सञ्जय शर्मा समातिएका थिए ।
