सोमबार हङकङको एक चारतारे होटलमा चलचित्र प्राविधिक संघको मुख्य आयोजनामा ‘नेफ्टा अवार्ड’ बाँडियो । सुचना तथा सञ्चारमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भव्य समारोहमा सहभागी हुन नेपालबाट ८० भन्दा बढी फिल्मकर्मीहरु हङकङ पुगे । ठुलो खर्चमा हङकङ पुगेका दर्जनौ फिल्मकर्मीले थुप्रै ठाउ घुमे, खुबै मस्ती पनि गरे । तर यसरी बाँडिएको अवार्ड विवादरहित भने हुन सकेन । अवार्ड नपाउनेहरुको त कुरा छोडौ । फिल्म नाइ नभन्नु ल बाट सार्वोत्कृष्ट बालकलाकारको अवार्ड पाएका अनुभव रेग्मी समेत यस अवार्डप्रति असन्तुष्ट छन । खासमा अनुभवलाई नोमिनेशनमा राखिएको पनि उनी स्वयमलाई थाहा छैन । अनुभवकी आमा कलाकार कविता रेग्मी भन्छिन- ‘नोमिनेशनबाट हटाइएको थियो तर पछि फेरी राखिएको रहेछ, हामीलाई जानकारी नै भएन ।’
मंगलबार बिहान नायिका प्रियंका कार्कीले टेलिफोनमा अनुभवले अवार्ड पाएको सुनाउदा सबै छक्क परे । कविताले भनिन- ‘त्यस्तो अवार्ड हामीलाई चाहिएन, हामीलाई दर्शकको माया नै सबैभन्दा ठुलो अवार्ड हो ।’ आयोजकले अनुभवलाई नोमिनेशनबाट हटाउनुको कारण पनि रोचक छ । विदेशजस्तो ठाँऊ सानै उमेरका अनुभव एक्लै पठाउन अभिभावकले मानेन । तर आयोजकले अभिभावक लान नमिल्ने र जाने नै भए पैसा हाल्नुपर्ने बताए । अनुभव र अभिभावकले पैसा हालेर अवार्ड लिन नजाने बताएपछि आयोजकले अनुभवको नाम नै नोमिनेशनबाट हटाएका थिए ।
आयोजकको यस्तो ब्यवाहरप्रति कविता असन्तुष्ट छिन । उनी भन्छिन- ‘कि बच्चालाई नोमिनेशनमा नराख्नु, राखेपछि अभिभावकले बच्चा एक्लै कसरी पठाउने ? अनि पचास हजार पैसा हालेर अवार्ड लिन किन जाने ? पचास हजारमा त म मेरो छोरालाई सुनको अवार्ड दिन्छु । हामीलाई अवार्डभन्दा दर्शकको माया चाहिन्छ ।’
अनुभव मात्रै हैन । अधिकांश फिल्मकर्मी नेफ्टा अवार्डबाट असन्तुष्ट छन । चलेका नायिका, निर्देशक तथा पत्रकारहरुले अवार्डको आलोचना गरिरहेका छन । निर्देशक राजु गिरी भन्छन- ‘मेरो फिल्मको ४ जना टप फाइभमा परेकोलाई अवार्डको बारेमा खबर छैन, के भन्नु ?’ दर्शकले एक हप्ता पनि साथ नदिएको फिल्म ‘धन्दा’ले सबैभन्दा धेरै अवार्ड उचाल्नु अझ हाँस्यस्पद रहेको पनि उनीहरुको भनाई छ ।
स्मरण रहोस सोमबार राति हङकङको होटल बिपी इन्टरनेशनलमा विभिन्न ३४ बिधामा नेफ्टा अवार्ड बितरण गरिएको थियो ।
Namaste Filmy

