
बिग न्यूज
पोखरा, ६ भदौ । ‘जाइरा’, यो एउटा नेपाली फिल्मको नाम हो । तर सुन्दा अथवा भन्दा यो नेपाली नाम लाग्दैन । यो फिल्म भदौ ६ गते शुक्रबारदेखि रिलिज हुँदैछ । फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ मूख्य भुमिकामा देखिएकी छिन् ।
‘जाइरा’को प्रचारको क्रममा अभिनेत्री नम्रता केही दिन अगाडि पोखरा आएकी थिईन् । उनीसँगै फिल्मका मूख्य अभिनेता मध्येका एक प्रमोद अग्रहरी पनि आएका थिए । सँगै थिईन् नव अभिनेत्री सुजाता श्रेष्ठ । उनको टिमले पोखरामा पत्रकारहरुसँग भेटघाट ग¥यो । चलचित्र पत्रकार संघ कास्कीले यसको मेसो मिलाएको थियो । त्यसपछि टोलीले विभिन्न रेस्टुरेन्टहरुमा ‘मिट एण्ड ग्रीट’ पनि ग¥यो । सोही अवसरमा फिल्मको निर्मात्री समेत रहेकी मूख्य अभिनेत्री नम्रतासँग बिगखबर डटकमले गरेको कुराकानी ः
‘जाइरा’ यो शुक्रबार रिलिज हुँदैछ । रिलिजलाई लिएर म लगाएत हाम्रो टीम एकदमै उत्साहित छौं । दर्शकहरुले कसरी यस फिल्मलाई लिनुहुन्छ भनेर म एकदमै ‘एक्साइटेड’ छु । मलाई मेरो यात्रा आफैंले हेर्दा पनि निकै खुसी लाग्छ । म आज जुन स्थानमा छु त्यो स्थानले मलाई मेरो रोजाईमा गर्व गर्न दिएको छ । मेरो पर्सनल, प्रोफसनल जीवनको सबै निर्णय म आफैंले लिएको हुँ । मलाई एकदमै खुसी लाग्छ । म जहाँ आफुलाई देख्न चाहन्थेँ, जुन बाटोमा आफैंलाई हिडाँउन चाहन्थेँ ,आज त्यही ठाउँमा हुँदा निकै खुसी लाग्छ ।
फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकहरुमाझ पनि यो फिल्मको चर्चा राम्रै चलेको हामीले पाएका छौँ । मिडियाहरुले पनि हामीलाई निकै राम्रो सपोर्ट गरिरहनुभएको छ । र, सामाजिक संजालमा फिल्मलाई लिएर धेरैले चासो दिएका छन् । यसरी हेर्दा फिल्मको व्यापारमा पनि यसको प्रत्यक्ष असर पर्छ जस्तो मलाई लागेको छ ।
नम्रताको लुक्सको चर्चा :
फिल्ममा म एउटा खेलाडीको रुपमा प्रस्तुत भएकी छु । ‘जाइरा शाक्य’, मेरो चरित्रको नाम हो । विशेषगरि यो फिल्ममा देखिएको मेरो फरक रुपलाई लिएर पनि धेरै दर्शकहरुले चासो देखाउनुभएको छ ।
‘जाइरा’ सुटिङ गर्ने बेलामा हामी ‘जाइरा’को त्यो बेला कस्तो रुप हुनुपर्छ भनेर डाइरेक्टर र हामी बसेर छलफल गरिरहेका थियौँ । म आफ्नो पहिरन र लुक्समा सन्तुष्ट थिएँ । त्यति बेला डाइरेक्टरले ‘कपाल काट्नु पर्ने हुन्छ’ भनेपछि मैले केही नसोची हुन्छ भनिदिएँ । तर पछि कपाल काट्ने कुरा मलाई राम्रो लागेन र मैले एकदमै धेरै टाइम लिएँ । पछि डाइरेक्टरले मलाई सम्झाउनु भयो । हामीले यसैको लागि सात आठ महिना देखी परिश्रम गरेको र निकै दुख समेत भोगेकाले कपाल काट्नु कुरा ठुलो मानिन । मैले नम्रता भएर यो बिषय हेरेको भए सायदै मैले कपाल काट्थेँ होला तर मैले ‘जाइरा’ भएर हेरेँ र कपाल काटेँ । क्यारेक्टर भित्र पसिसकेपछि मैले कपाल काट्न गाह्रो भएन । मलाई कपाल काटेको बिषयमा अरुले गाली गर्नुभएको थियो र पछि ‘प्रसाद’ फिल्मको पनि सुटिङ गर्दा गाह्रो भएको थियो ।
‘जाइरा’ नामको अर्थ :
‘जाइरा’को खास अर्थ केही छैन । फिल्ममा रहेको एउटा पात्रको नाम हो, ‘जाइरा’ । यो फिल्म नै ‘जाइरा शाक्य’मा केन्द्रित छ । र, फिल्ममा त्यो चरित्रमा मलाई फिचर गरिएको छ ।
यो नामलाई लिएर केही सवालहरु नआएका होईनन् । अझै यसलाई अँग्रेजीमा लेख्दा कतिपयले हामीलाई गाली पनि गरेका हुन् । यसको लेखाईको सवालमा कुरा गर्दा हामीले यसलाई ग्लामरस देखाउन यसो गरेका हौँ । र, फिल्ममा यतिसम्म गर्ने ‘लिबर्टी’ रहन्छ पनि ।
अर्को कुरा, यही नाम किन राखियो भन्दा यो हाम्रो निर्देशकको ‘ड्रिम क्यारेक्टर’ हो । उनी यो नामभन्दा अर्को नाम लिन कुनै पनि खालको कम्प्रोमाइज गर्ने वाला नै थिएनन् । यो नाम उहाँलाई यति धेरै पावरफूल लाग्यो कि, कुनै पनि हिसाबले उहाँले यसलाई चेञ्ज गर्न मान्नुभएन । र, हामी टिमलाई पनि उहाँले कन्भिन्स गराउनुभयो ।
म यो चरित्रका लागि करिब ९ महिनासम्म जिम धाएकी थिएँ । ‘हार्डकोर एक्सरसाइज’ गर्दा मलाई शुरु शुरुमा त गर्न सक्दिन होला जस्तो लागेको थियो । फिल्म नै बन्दैन कि झैँ पनि लाग्थ्यो । तर सबैजनाको साथ र हौसला पछि मैले आफूलाई खेलाडी जस्तो देखाउन सकेकी थिएँ । यो निकै गाह«ो कुरा थियो । तर ट्रेलर सार्वजनिक भैसकेपछि पाएको प्रतिक्रियाले त्यो बेलाको दुख भुलाईदिएको छ ।
मूख्य अभिनेत्री र निर्मात्री एकैसाथ बन्दा :
मेरो करिअरकै शुरुवाती क्षणको कुरा गर्दा मलाई फिल्मप्रति खासै आशक्ति थिएन । तर आलोक नेम्बाङ दाइले ‘सानो संसार’ फिल्मको अडिसनका लागि बोलाएपछि मैले त्यहाँ भित्रको माहोल बुझेँ र फिल्म प्रति चासो बढ्यो । फिल्मको बारेमा जे जति नराम्रा कुराहरु सुनिन्थ्यो त्यो सबै सानो संसार फिल्मको सुटिङमा जाँदा गलत रहेछन् भन्ने लाग्यो र मैले त्यसपछि फिल्म खेल्छु भन्ने निर्णय गरेँ । त्यसपछि फिल्मी लाइफमा कहिल्यै पछाडि फर्केर हेरेको छैन ।
तर लगानी सँगसँगै ‘लिडिङ क्यारेक्टर’को रुपमा काम गर्न चाहीँ गाह्रो हुने रहेछ । सुरुमा म प्रोड्युसरको रुपमा थिइनँ । पछि फिल्मको सुटिङ सकिएपछि मात्र म प्रोड्युसर भएकी हुँ । मेरो दश वर्षको अनुभवले मलाई फिल्ममा काम गर्न त सजिलो नै थियो तर प्रोड्युसर बन्नु मेरो लागि एकदमै गाह्रो भयो । फिल्मको सुटिङ सकिएपछि प्रोमोसनमा जानु प¥यो ,इन्टरभ्युमा जानु पर्ने तथा फेरी पोष्ट प्रोडक्सनमा जानु प¥यो । मलाई एकदमै गाह्रो भएको थियो । एकदमै साना साना समस्याले गर्दा सुत्न समेत नपाइँदो रहेछ लिडिङ क्यारेक्टर र प्रोड्युसर बन्दा ।
जहाँ सम्म लाग्छ एउटा राम्रो एक्शन फिल्म बनेको छ । जुन खासै नेपाली फिल्महरु हुँदैन । टिमको मिहिनेत राम्रो छ र अहिले चलिआएका फिल्म भन्दा बेग्लै किसिमको फिल्म बनाएका छौं । यदि तपाइँले हाम्रो ट्रेलर हेर्नुभएको छ , कन्टेन्ट राम्रो लागेको छ भने फिल्म चल्ने दिनहरुमा एकदिन समय मिलाएर हेरिदिनु होला । हेरेर मात्र हुँदैन हेरीसकेपछि प्रतिक्रिया पनि दिनुहोला ।
प्रस्तुती : अनिश भट्टराई
तस्वीर : जक्शन डटकम



