गीतमा देशभक्ति र क्रान्तिको ‘फ्युजन’

Share:

रेम बिक
पोखरा, ६ भदौ । ‘देशभक्ति गीत कस्ता हुन्छन् ?’, अवश्य नै देशप्रेमले ओतप्रोत हुन्छन् । यस्ता गीत सुन्दा देशप्रेमको भाव सबैको मनमा उठ्छ । र, यो स्वभाविक पनि हो ।

तर, ‘क्रान्तिकारी गीत ?’, यसको पनि आफ्नै खालको प्रभाव हुन्छ । देश परिवर्तन गर्ने र आमुल परिवर्तन गर्ने सन्देश यस्ता गीतले बोकेका हुन्छन् । यस्ता गीत सुन्दा जो कोहीको रगत उम्लिन्छ ।

‘सबै देशभक्तिका गीत क्रान्तिकारी हुँदैनन् । तर सबै क्रान्तिकारी गीतहरु चाहीँ देशभक्ति बोकेका हुन्छन् ।’ यो गीतकार निर्मल खत्री (४८) को तर्क हो । गीतकारको रुपमा निर्मलले यस्तै गीतहरु लेख्न रुचाउँछन् । व्यक्तिगत रुपमा कुरा गर्ने हो भने पनि निर्मल देशभक्त र केही क्रान्तिकारी सुनिन्छन् ।

देशभक्ति र क्रान्तिकारी जनराको फ्युजन उनको लेखनमा देखिन्छ । ‘हरेक देशभक्त नागरिक नै क्रान्तिकारी हुने हुन् । देशभक्त मानिस नै त हो, आफ्नो देशलाई अझै राम्रो होस् र सुशासन होस् भन्दै क्रान्तिमा होमिने ।’ निर्मल भन्छन् ।

यद्यपि क्रान्ति भन्दैमा बन्दुक नै बोक्नुपर्छ भन्ने निर्मलको मान्यता भने होईन । गीतसंगीतले मानिसलाई सबैभन्दा बढि छुन्छ । र, यसैलाई माध्यम बनाएर परिवर्तनको आवाज उठाउनुपर्छ भन्ने उनको मान्यता हो । उनका गीतमा व्यङ्ग मिसिएको हुन्छ । तर उनी पुरापुर व्यङ्गात्मक गीतहरुको पक्षमा भने छैनन् । एउटा गीतकारको रुपमा ‘बीचको धार’ उनको रुची हो ।

उनका सार्वजनिक भएका गीतहरुमा पनि उनको लेखनको बीचको शैली झल्किन्छ । ‘ललिपप’ यस्तै प्रकृतिको गीत हो ।

‘राणा भन्यौँ, पञ्च भन्यौँ, ल्यायौँ गणतन्त्र, बुझ्नै गाह«ो के हो कुन्नी, कस्तो मुलमन्त्र’

उनी केही फरक शैलीमा गीतमार्फत सत्तालाई व्यङ्ख गर्छन् । तर ‘लुट्न सके लुट्’ जसरी सोझै होईन । ‘जे कुरामा पनि एउटा धैर्यता आवश्यक छ । परिवर्तन एक झट्कामा हुँदैन । त्यसैले म विस्तारै हुने कुरामा विश्वास गर्छु । शिष्ट शब्दमा पनि खबरदारी गर्न सकिन्छ भन्ने मेरो मान्यता हो ।’ खत्री आफ्नो शैलीलाई लिएर ढुक्क सुनिए ।

यही बीचमा उनको अर्को गीत रिलिज भयो । ‘गोर्खाली’ बोलको गीतमा उनले नेपालीहरुको स्वाभिमान र वीरताको गाथा पस्केका छन् । ‘म यो गीतलाई ऐतिहासिक राष्ट्रिय गीत भन्न रुचाउँछु ।

निर्मल खत्री कुनै बेलाका राष्ट्रिय भलिबल खेलाडी हुन् । अधिवक्ता समेत रहेका खत्रीले यो बीचमा १५ वर्षभन्दा बढि शिक्षणमा व्यस्त रहे । हाल पोखरा फूलबारीमा पोल्ट्री सप्लायर्सको व्यवसाय सम्हालिरहेका खत्री नेपालको राजनीतिलाई देखेर आजित बनिसकेका छन् । ‘जो कोही सत्तामा आएपनि नेपाली जनताले कहिल्यै शान्तिको श्वास फेर्न पाएनन् ।’ उनी केही विचलित सुनिए ।

उनलाई विधान हेर्दा सबै पार्टी उत्कृष्ट लाग्छन् । जब ती पार्टीहरुको कामकारबाही हेर्छन्, तब वाक्क लागेर आउँछ । त्यसैमाथि यहाँको कर्मचारीतन्त्रको मनोमानी । बिचौलियाहरुको हालिमुहाली । ‘अहो, यस्तो कुरा देखेर मलाई औडाहा भएर आउँछ । अबको दिनमा यी सबै क्षेत्रमा सुधार आउन जरुरी छ । इमानदार, अध्ययनशिल र दुरदृष्टि भएका युवाहरु नेतृत्वमा आए मात्र अब परिवर्तन सम्भव होला कि ?’ उनी केही आशाबादी पनि सुनिन्छन् ।

निर्मल अरुले जसरी चियापसल वा भट्टीमा चर्को आवाजमा यस्ता गुनासो पोख्न चाहनेवाला भने छैनन् । ‘म गीत लेख्छु । र, मेरो गीतबाट म मेरा मनका कुरा भन्न चाहन्छु । खासमा यही कुराले नै मलाई गीतकार बनाएको पनि हो ।’ निर्मलले भने ।

क्याम्पस पढ्न थालेदेखि हो निर्मलले गीत लेख्न शुरु गरेको । शुरुवाती समयदेखि नै उनले मायाप्रेमका गीत भने लेखेनन् । ‘मनमा देशभक्ति थियो र केही क्रान्तिकारीता पनि । शुरुवातीमै मैले यही प्रकृतिकै गीत लेखेँ । र, अब पनि यस्तै प्रकृतिकै गीतहरु लेख्नेछु । जसले मेरो मन पनि शान्त पारोस् ।’

गीतकार खत्रीको एउटा कविता संग्रह प्रकाशित समेत भैसकेको छ । ‘विवेकशील कविता संग्रह’ उनले २०७३ सालमा प्रकाशित गरेका हुन् । अब उनी केही भजन, राष्ट्रभक्ति गीत र एउटा लोकदोहोरी गीत लेख्ने योजनामा छन् । तर उनका यी गीतहरु सुन्न केही समय भने लाग्नेछ । ‘हतारमा मेरा गीत आउँदैनन्, बरु ढिला आउँछन् तर गहकिलो आउँछन् ।’ उनले कुराकानी टुंगाए ।

कमेन्ट गर्नुहोस्
Share: