
स्याङ्जा । स्याङ्जामा एक जनामा डेंगु संक्रमण देखिएको छ । स्याङ्जाको पुतलिबजार नगरपालिका वडा नम्बर २ का ३२ वर्षीय एक जना पुरुषमा डेंगु फेला परेको जिल्ला अस्पताल स्याङ्जाले जनाएको छ ।
अस्पतालमा भदौ ५ गते भर्ना भएर उनले उपचार गरिरहेका थिए । आइतबार परीक्षण गर्दा उनमा डेंगु फेला परेको हो । संक्रमितको अहिले जिल्ला अस्पताल स्याङ्जामा उपचार भईरहेको अस्पतालका मेडिकल रेकर्डर सुपरभाईजर बुद्धीसागर अधिकारीले जानकारी दिए ।
यता पोखरामा यसबाट संक्रमित हुनेको संख्या दैनिक बढ्दै गएको छ । अहिले पोखरामा २ सय भन्दा बढी डेङ्गुबाट संक्रमित छन् । गएको साउन १५ गते पोखरा–८, शिवालय चोकका एक पुरुषमा पहिलोपटक डेंगु संक्रमण देखिएको थियो ।
यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । सोही जातको लामखुट्टेको टोकाइबाट बच्न सके यो रोगबाट पनि बच्न सकिन्छ । डेंगुका विषयमा सुरुमा आफैं सचेत हुनुपर्ने चिकित्सक बताउँछन् ।
पानी जम्माका गरिएका भाँडा घोप्टयाएर राख्न, घरवरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्नपर्छ । डेंगु लागेपछि उच्च ज्वरो आउने, जोर्नी तथा हाडहरु दुख्ने, वान्ता हुने, खाना खान मन नलाग्ने र शरीरका विभन्न अंगबाट रगत बग्नेलगायतका लक्षण देखिने गर्दछ । यो लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने भएकाले आफूले लगाउने कपडामा पनि विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।
