एटीएमबाट करोडाैं रकम झिकेर भोली फर्किने योजनामा थिए ‘चिनियाँ ह्याकर’

Share:

काठमाडौं – एकै रातमा काठमाडौंका विभिन्न बैंकका एटीएम बुथबाट करोडाैं रकम झिक्ने चिनियाँ नागरिकको योजना प्रहरीले असफल पारेको छ । शुक्रबार नेपाल आएको चिनियाँ टोलीले काठमाडौंका नबिल, प्रभु र हिमालयन बैंकका एटिएमबाट रकम निकालेको प्रहरीले जानकारी दिएको छ ।

साबिकको रकम झिक्ने फ्रिक्वेन्सीभन्दा निकै चाँडो रकम झिकेपछि शंका लागेर प्रहरीलाई खबर गरेपछि दरबारमार्ग्स्थित नबिल बैंकको एटीएमबाट एकजना चिनीयाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

दरबारमार्ग, कमलपोखरी र र्सोहखुट्टेबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका एकजनाको बयानका आधारमा अन्य चारजनालाई पनि पक्राउ गरेको हो । प्रहरीले उनीहरुले होटलबाट निस्किने क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा लीङ ज्यामिङ, लुओ ज्यालिप, झु लियाङग्याङ्, क्यू योङसिङ् र सेन बिनबिन रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार उनीहरुले फर्किने योजना बनाएका थिए । प्रहरी अधिकारीका अनुसार उनीहरुले बैंक खातामा रहेको रकम निकाल्न नसके पनि एटिएम बुथमा रहेको सबै रकम झिक्न सक्ने प्रविधिको प्रयोग गरेको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानबाट एक करोड ६८ लाख ५४ हजार चार सय २० रुपैयाँ निकालिएको देखिएको छ । जसमध्ये एक करोड ३६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ बरामद गरिसकेको छ ।

यसैबीच नेपाल बैंकर्स संघले सर्वसाधारण निक्षेपकर्ताले आत्तिनु नपर्ने जनाएकाे छ। संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले धेरै ठूलाे क्षति नभएकाे बताउँदै सबै रकम बैंकले व्यहाेर्ने बताए।

कमेन्ट गर्नुहोस्
Share: