आज हरितालिका तीज, नाचगानसहित पूजा उपासना गरेर मनाईंदै

Share:

काठमाडौं । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज । नेपाली हिन्दु नारीहरुले आज नाचगान र पूजा उपासना गरेर तीज पर्व मनाउँदैछन् ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । सखीले पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मान्यता रहेको छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाइ आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।

आज काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेव, पोखराको केदारेश्वरलगायत देशका अरु शिव मन्दिरहरूमा आज बिहानैदेखि घुँइचो लागेको छ ।

सरकारले महिला कर्मचारीका लागि आज सार्वजनिक बिदासमेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: