पत्रकार ओम हमालको पक्षमा साझा पार्टी : ‘नियोजित रुपमा फसाउने काम भयो’

Share:

पोखरा, १९ भदौ । साझा पार्टी गण्डकीले पत्रकार ओम हमालको गिरफ्तारी नियोजित भएको भन्दै विरोध जनाएको छ । पार्टीले पत्रकार हमाललाई तत्काल रिहाई गर्नुपर्ने माग राख्दै पत्रकार महासंघले देशव्यापी चलाईरहको आन्दोलनमा ऐक्यबद्धता समेत जनाएको छ ।

साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले जारी गरेको प्रेस विज्ञप्तीमा लोकतन्त्रमा पनि व्यक्तिगत आस्थाका आधारमा एउटा पत्रकारलाई राज्यले बन्धक बनाउनु लज्जासपद् भएको उल्लेख छ ।

‘वैयक्तिक स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो । तर व्यक्तिगत आस्थाका आधारमा टेकेर कोहीलाई बिनाकारण दुख दिईन्छ भने त्यो पक्कै पनि सह्य हुँदैन । नेपाल पत्रकार महासंघ कास्की शाखाका पत्रकार ओम हमाललाई राज्यले यतिबेला यस्तै विभिन्न आरोपहरु लगाएर दुख दिईरहेको छ ।’ प्रेस विज्ञप्तीमा उल्लेख छ ।

जारी प्रेस विज्ञप्तीमा साझा पार्टीले राज्यले लोकतन्त्रको उपहास गरेर जनताले गरेका संघर्ष र आन्दोलनको मजाक उडाएको बताएको छ । राज्य संचालनमा रहेका दलहरुले लोकतन्त्रको गलत अभ्यास गरिरहेको पार्टीको तर्क छ ।

‘यतिसम्म कि राज्यले सम्मानित सर्वोच्च अदालतको समेत मानहानी गर्ने काम गरेको छ । र, यो सरासर राज्यको दमन हो ।’ साझा पार्टीका संयोजक भण्डारीले भनेका छन् ।

साथै साझा पार्टी गण्डकीले सरकार चाँडै सच्चिएर अगाडि बढ्नुपर्ने धारणा समेत पेश गरेको छ । विप्लव समूहको कार्यकर्ताको आरोपमा पत्रकार हमाल गएको भदौ ६ गते कास्कीको शिशुवाबाट पक्राउ परेका थिए ।

उनलाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो । तर, रिहा भएलगत्तै सर्वोच्च अदालतको गेटबाटै प्रहरीले फेरि पक्राउ गरेको थियो । पत्रकार हमाल जनसञ्चार डट कमका सम्पादक हुन् ।

प्रेस विज्ञप्ती : पत्रकार ओम हमालको विनाशर्त रिहाईको माग

(प्रकाशन तथा प्रसारणका लागि सक्दो श्यर गरिदिन आग्रह सहित)

कल्याणकारी राज्यको अवधारणामा अगाडि बढिरहेको साझा पार्टी लोकतन्त्रमा बिश्वास राख्दछ।

लोकतन्त्र भन्ने वित्तिकै स्वतन्त्र प्रेसको अवधारणा अगाडि आईहाल्छ। जबसम्म प्रेस स्वतन्त्र हुन सक्दैन, तबसम्म लोकतन्त्रको आभास गर्न सकिदैन। देश लोकतान्त्रिक गणतन्त्रकै अभ्यासमा छ। र, यही लोकतन्त्र प्राप्तिका लागि जनताले दुस्ख र संघर्ष भोग्नुपरेके इतिहास साक्षी छ।

लोकतन्त्र र यो सँगै जोडिएर आउने विभिन्न अधिकार प्राप्तिकै लागि जनताले गरेका संघर्षको बर्तमान सरकारले सम्मान गर्न सकेको छ त? पटक्कै छैन साथै, जनतालाई लोकतन्त्रको प्रत्याभुति दिलाउन नसकेको पनि जग जाहेरै छ। र, यो अत्यन्तै लाजमर्दो कुरा हो।

लोकतान्त्रिक मुलुकको अर्को सौन्दर्यता भनेको वैयक्तिक स्वतन्त्रता पनि हो। तर व्यक्तिगत आस्थाका आधारमा टेकेर कोहीलाई बिनाकारण दुख दिईन्छ भने त्यो पक्कै पनि सह्य हुँदैन। नेपाल पत्रकार महासंघ कास्की शाखाका पत्रकार ओम हमाललाई राज्यले यतिबेला यस्तै विभिन्न आरोपहरु लगाएर दुख दिईरहेको छ।

त्यसो त पत्रकार हमालको पक्षमा सम्मानित सर्वोच्च अदालतले सफाई दिईसकेको अवस्था हो। तर पुनः एकमाथि अर्को मुद्दा लगाउँदै उनलाई सर्वोच्च अदालतकै गेटबाट प्रहरीले पक्राउ गरेको छ। यो सरासर उनलाई फसाउनका लागि चालिएको गैर न्यायिक चाल हो। र, राज्यको यस्तो प्रबृत्तिले सर्वोच्च अदालतको समेत मानहानी भएको महशुस भएको छ।

व्यक्तिगत आस्थाकै आधारमा एउटा पत्रकारलाई भए नभएको आरोपहरु लगाएर राज्यले नियोजित रुपमा यसरी दुख दिनु खेदपुर्ण कुरा हो। पत्रकार महासंघ लगाएतका विभिन्न पत्रकार सम्बद्ध संघसंस्थाहरुले यस विरुद्धमा आन्दोलन गरिरहेका छन्।

पत्रकार हमालको रिहाईका लागि गरिएको आन्दोलनमा साझा पार्टी, गण्डकी प्रदेश ऐक्यबद्धता सहित तत्काल बिनाशर्त रिहाईको माग गर्दछ।

महेश भण्डारी
संयोजक
साझा पार्टी, गण्डकी प्रदेश
मिती : २०७६ भदौ १९ गते बिहीबार

याे पनि – पत्रकार हमालको रिहाइको माग गर्दै प्रशासनको गेटमा धर्ना

कमेन्ट गर्नुहोस्
Share: