
पोखरा । विश्वकप फुटबलको छनौट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । कुवेतको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा नेपाल ७-० ले पराजित भएको हो ।
पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा ५ गोल खाएको हो । कुवेतलाई जित दिलाउन युसेफ नासिरले छैठौं र ५० औं मिनेटमा एक/एक गरी दुई गोल गरे ।
यस्तै फहाद अल हाजेरीले १३ औं मिनेटमा, अब्दुल्लाह मावीले ५९ औं मिनेटमा, बदेर अल मुट्वाले ६७ औं मिनेटमा, रेडा हानि र हुसेन अल मोसाविले अतिरिक्त समयको चौंथो र सातौँ मिनेटमा एक/एक गोल गरे ।
अब्बल टिम मानिने कुवेतसँग नेपालले सम्झन लायक प्रदर्शन गर्न सकेन । खेल अवधिभर नेपालको प्रदर्शन फितलो रहन पुग्यो ।
यो खेल सहित गरेर कुवेतसँग सात खेल खेलेको नेपालले ६ खेलमा पराजय व्यहोरेको छ । अहिलेसम्म भएका खेलमध्ये एक खेल बराबरीमा साकिएको छ ।
यो सँगै ७ खेल खेलेको नेपालले कुवेतसँग २९ गोल खाएको छ भने एक गोल मात्रै गरेको छ । यस जितसँगै कुवेत समूहको शीर्षस्थानमा उक्लिएको छ । नेपालले अब अर्को खेलमा मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ ।

