
विदुर – नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् ।
विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको छ ।
कबाडीलाई शुरुमा रु तीन लाखमा बेच्ने हल्ला भएको र पछि रु ७० हजारमा मात्र बेचिएको थाहा भएको देवीघाट जाल्पा क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सुरथबहादुर चित्रकारले बताए ।
उनले भने,“पञ्चायत कालमा निकै मिहेनत गरेर पुलको निर्माण गरिएको हो । पछि त्यही पुलसँगै अर्को पक्की पुल निर्माण भएपछि साना ठूला गाडी पक्की पुलबाट र पैदल यात्रु झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरेका थिए ।’’
बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीले पुल कहाँ कसरी बेचियो भन्ने कुरा आफूलाई थाहा नभएको र रु ३५ हजार भने विदुर नगरपालिका–५ का वडाध्यक्षले तपाईको भाग भनेर पठाएको जानकारी दिए ।
उनले बेलकोटगढी नपा–८ र विदुर नपा–५ को सिमानामा रहेको झोलुङ्गे पुल बेच्ने कुनै लिखित निर्णय नभएको बताए ।
त्यस्तै विदुरनगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकारले सो पुल आफूले मात्र नभई बेलकोटगढी नपा–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीसँगको समन्वयमा नै बिक्री गरेको दाबी गरे ।
रासस
