
बाग्लुङ – बाग्लुङ जिल्लामा डेंगुको संक्रमण फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान शुरू भएको छ । स्वास्थ्य कार्यालय, बागलुङ नगरपालिका लगायतका संघसंस्थाले अभियान शुरू गरेका छन् ।
अभियानसंगै प्रभातफेरी कार्यक्रम पनि आयोजना गरेको स्वास्थ्य कार्यालय बाग्लुङका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले जानकारी दिएका छन्।
प्रभातफेरीमा निजामती कर्मचारीसहित, सेना, प्रहरी, सामाजिक अभियन्ता, स्वयंसेवक, पत्रकारलगायत सहभागी थिए । सो अवसरमा सर्वसाधारणलाई डेंगु रोगसम्बन्धी सन्देशमूलक पर्चासमेत वितरण गरिएको थियो ।
स्वास्थ्य कार्यालय बाग्लुङका अनुसार शुक्रवार सदरमुकामभित्र लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट पार्ने काम भएको छ ।काठेखोला गाउँपालिकाका २० वर्षीय युवा डेंगु रोगबाट संक्रमित भएको जनाइएको छ ।
बाग्लुङका अन्य २ जना संक्रमित व्यक्ति अहिले पोखरामा उपचाररत छन् । जिल्लामै संक्रमित भेटिएपछि डेंगुको जोखिम बढेको छ ।
