
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्राप्त भएको युगान्तकारी परिवर्तनलाई अपमानित गर्ने र त्यसमा नेतृत्वदायी भूमिका खेल्ने नेताहरुलाई बदनाम गर्ने षड्यन्त्रभित्र प्रतिक्रान्तिको गन्ध आउन थालेको बताएका छन् ।
पार्टी मुख्यालयमा आयोजित २१ औँ सुरेश वाग्ले स्मृति कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्र र समावेशी लोकतन्त्रलाई उल्टाउनका लागि प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताएका हुन् ।
‘चिहानबाट भूतप्रेत ल्याउँदैमा त्यो ब्युतिने विज्ञानले मान्दैन तर प्रेतआत्मा आएर जीवित मान्छेहरुलाई दुःख दिने गर्ने रहेछन्,’ उनले भने, ‘कहिलेकाहीँ सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा सिंह र स्यालको तुलना हुन सक्दैन । सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ ।’
अध्यक्ष प्रचण्डले हिजोका निरंकुशतावादी र कुनै पनि नाममा प्रतिक्रियावादी शक्तिलाई यो देशलाई फेरि निरंकुशताको जातोमा पिस्न दिन आफूहरुलाई स्वीकार्य नभएको जिकिर गरे ।
‘हजारौँ शहिदको बलिदानबाट प्राप्त गणतन्त्र र समावेशी लोकतन्त्र उल्टाउन दिइने छैन,’ उनको भनाई थियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन खोज्ने गतिविधि भइरहेको बताउँदै उनले त्यो स्वीकार्य नभएको पनि बताए ।
‘हिजोका निरंकुशतावादीहरु वा अरु कुनै नामका प्रतिक्रियावादी आएर नेपाललाई फेरि एकचोटि निरंकुशताको जाँतोमा पिस्न दिन सकिँदैन,’ उनले भने, ‘त्यो इतिहासलाई स्वीकार्य छैन, त्यो जनतालाई स्वीकार्य छैन, त्यो हामीलाई स्वीकार्य छैन ।’
उनले एकता प्रक्रिया अन्तिम रुपमा पुगेको र अब देशभर कार्यक्रम लिएर जनताको माझ जाने तयारी भइरहेको पनि जानकारी दिए । २०५६ सालमा २०५६ सालमा वाग्लेको हत्यापछि जनयुद्धमा बलिदान दिनेको संख्या बढेको पनि प्रचण्डले स्मरण गरे ।
