
काठमाडौं । तीन दिने नेपाल भ्रमण पूरा गरी चीनका विदेशमन्त्री वाङ यी आज स्वदेश फर्किएका छन् ।
आइतवार काठमाडौं आएका चिनियाँ विदेशमन्त्री वाङले मंगलबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमण तथा दुई देशको आपसी सम्बन्धलाई सुढृढ गर्ने विषयमा छलफल भएको नेकपा अध्यक्ष दाहालले बताए ।
दाहालले चिनियाँ विदेशमन्त्रीसंगको भेटमा आपसी साझेदारी तथा सहकार्य र आर्थिक विकासमा चिनियाँ सहयोगका विषयमा छलफल भएको बताए ।
चिनियाँ विदेशमन्त्री वाङसंगको भेटमा नेताहरुले नेपाल सधैं एक चीन नीतिप्रति अडिग रहेको र चीन विरोधी गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको बताइएको छ ।
यसअघि चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका थिए ।
