
लमजुङ । लमजुङ र हिमाली जिल्ला मनाङबीचको एक मात्र बेँसीशहर–चामे सडक खुलेको छ । नासो गाउँपालिका–१ तालस्थित म्यार्दीभीरमा पहिरो जाँदा अवरुद्ध भएको करीब १७ दिनपछि शनिबार साँझबाट यस सडकखण्ड खुलेको हो ।
करीब १०० मिटर माथिबाट आएको ठूला–ठूला ढुङ्गासहितको पहिरोले अवरुद्ध बनाएको सडक १० दिनको प्रयासपछि खुल्न सफल भएको छ । पहिरोले १२० मिटर सडक नै भत्काएपछि तत्काल सडक खुलाउने प्रयास गरिए पनि ठूला–ठूला ढुङ्गा हटाउन र फोर्न नसकिएपछि ८० वटा बम ब्लाष्ट र ब्रेकर लगाएर सडक सञ्चालन गर्न सफल भएको सडक डिभिजन कार्यालय दमौलीका सवइञ्जिनीयर सुमन अधिकारीले बताए ।
उनका अनुसार पहिलाको सडक नै पत्ता नलाग्ने गरी सडक भत्किएपछि पहिलाको भन्दा फरक ‘ट्र्याक’ खोलेर सडक निर्माण तथा मर्मत गरिएको छ । अहिले सडक सञ्चालन भएपनि कतिबेला फेरि पहिरो आएर सडक अवरुद्ध हुन्छ थाहा नै नहुने सडक डिभिजन कार्यालय तनहुँले जनाएको छ ।
सडक डिभिजन कार्यालयले सडक सञ्चालन गर्न सफल भएपनि लमजुङ र मनाङको सिमानामा रहेको म्यार्दी खोलामा पुल निर्माण सम्पन्न हुन नसक्दा खोलाबाट साना सवारी साधन तर्न नसकेको र ट्रक, ठूला ट्र्याक्टर मात्रै खोलाबाट तर्न सकेको सवइञ्जिनीयर अधिकारीले बताए ।
म्यार्दीखोलामा पानी नघटेको र आकाशबाट पानी बेला–बेला पर्ने गरेकाले खोलामा पानीको प्रवाह बढिरहेकाले साना सवारी साधन खोला तर्न सक्ने अवस्था नहुँदा यात्रुलाई समेत समस्या हुने भएको छ । बेँसीशहरदेखि चामेसम्म ६५ किलोमिटर लामो दूरी छ ।
यस सडकमा दैनिक यात्रु बोक्ने ३५ सवारी साधन आवतजावत गर्ने गर्दछन् । चाडपर्व नजिकिएसँगै सामानसमेत ढुवानी गर्नलाई समस्या हुन थाले पनि सडक सञ्चालन भएपछि भने स्थानीयवासी खुशी भएका छन् ।
म्यार्दीखोलामा निर्माणाधीन मोटरेबल पुल केही दिनमा निर्माण सम्पन्न हुने र सो पुलबाट सवारी साधन गुड्न थाल्ने सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुलको ‘एम्प्रोज रोड’ को केही भाग मात्रै निर्माण सम्पन्न गर्न बाँकी छ ।
