
पोखरा। कार्यालय तोडफोड गरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ का वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन्।
माछापुच्छ्रे गाउँपालिकामा तोडफोड गरेको भन्ने किटानी जाहेरीको आधारमा वडाध्यक्षसहित ३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दान बहादुर कार्कीले जानकारी दिए ।
गाउँपालिकाकी उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले गुरुङ सहितको टोलीले गाउँपालिकाको बैठक कक्षमा रहेको सामाग्रीहरु तोडफोड गरेको उजुरी दिएपछि मंगलबार उनीहरु पक्राउ परेका हुन्।
तोडफोडको आरोपमा उनीहरूसहित अन्य ४५ विरूद्ध प्रहरीमा उजुरी दर्ता गराइएको दवाडीले बताइन्। जनप्रतिनिधिलाई घेराउ गरिएको र तोडफोडसमेत गरिएको भन्दै किटानी जाहेरी दिइएको दवाडीले बताईन।
कानुनी प्रक्रियाअनुसार गाउँपालिकाको बारेमा सूचना माग गर्दा सूचना नदिएको भन्दै कांग्रेस कार्यकर्ताले गत भदौ २५ गते गाउँपालिकाको बैठक कक्षका केही फर्निचर तोडफोड गरेका थिए।
