
बागलुङ – ‘एक घर, एक धारा’ योजनाले बागलुङको गलकोट नगरपालिका–११ रिघाफेदीमा खानेपानीको सङ्कट टार्ने भएको छ । फेदी छरछरे खानेपानी आयोजनामार्फत रिघाफेदीका ५५ घरधुरीमा स्वच्छ खानेपानी पु¥याउन लागिएको हो ।
आयोजनाको ७० प्रतिशत काम पूरा भएको उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर राना कुमालले बताए । “यो वर्ष आयोजना पूरा हुन्छ”, उनले भने, “सबै घरधुरीमा धारा पुग्छ ।”
बुहवर्षीय योजनाअन्तर्गत अघिल्लो आर्थिक वर्षमा शुरु गरिएको आयोजनालाई गण्डकी प्रदेश सरकारले रु ३५ लाख बजेट छुट्याएको थियो । यो वर्ष पनि रु पाँच लाख बजेट विनियोजन गरिएको अध्यक्ष कुमालले जानकारी दिए।
आयोजनामा अहिले पाइप बिछ्याउने, ट्याङ्की र धारा निर्माणको काम भइरहेको छ । एक घर, एक धाराको सरकारी लक्ष्यअनुसार नै आयोजना सञ्चालन भइरहेको वडाध्यक्ष डम्बर श्रीसले बताए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत आयोजना निर्माणको काम भइरहेको उनको भनाइ छ । वडा नं ११ मै सञ्चालित झारसादी–मजुवा–अरले–मनेवापाटा खानेपानी आयोजनाले पनि स्थानीय ७० घरधुरी लाभान्वित हुने वडाध्यक्ष श्रीसको भनाइ छ ।
हिउँदमा खानेपानीको सङ्कट झेल्दै आएका ठूलो रिघालगायतका गाउँमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पु¥याउने योजना रहेको छ ।
वडा नं २ नरेठाँटीमा पनि ‘एक घर, एक धारा’ पु¥याउने लक्ष्यसहित ‘जसपुर–घामपानी–मसरा खानेपानी तथा सरसफाइ आयोजना’ निर्माणाधीन अवस्थामा छ । सङ्घीय सरकारको रु २३ करोड लागतमा बन्ने आयोजनाको सम्पूर्ण काम आगामी सात वर्षमा पूरा हुने जनाइएको छ ।
दुई वर्षअघि शुरु भएको आयोजनामा रु एक करोड बराबरको काम भइसकेको उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजना बनेपछि नरठाँटीका ६५० घरधुरीमा खानेपानीको सहज पहुँच पुग्नेछ ।
