संविधान कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्छ- प्रधानमन्त्री ओली

Share:

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट संविधान निर्माण भएको हुनाले संविधान कार्यान्वयनका लागि एकजुट हुनु पर्ने बताएका छन् ।

संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहोर्‍याए ।

जनताले आफ्ना प्रतिनिधिले लेखेको संविधान बनेको दिनलाई दिवसका रूपमा मनाएको प्रधानमन्त्रीको भनाइ थियो। प्रधानमन्त्रीले संविधान आवश्यकताका आधारमा संशोधन हुने पनि बताए। उनले संविधानको कुन धारा, दफा वा भागमा के मिलेन भन्दा पनि कार्यान्वयनका क्रममा जहाँ बाधा आउँछ त्यो दिन संशोधन हुने बताए।

प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको हालसम्मको अवधिमा भएका आर्थिक विकास र उपलब्धिका बारेमा पनि विस्तृतमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व सम्हालेपछि उच्च आर्थिक वृद्धि भएको, आयात घटेको र निर्यात बढेको बताए। उनले भने, ‘संघीयता कार्यान्वयनको पहिलो चरणमा नै समृद्धिको दिशामा मुलुक अघि बढेको संकेत मिलेको छ।’ उनले राजश्व वृद्धि भएको र विकास निर्माणका कामले पनि तीव्रता पाएको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: