
तनहुँ – तनहुँ, गोरखा र लमजुङमा अहिले मल आपूर्तिमा सहज भएको छ । यी तीन जिल्लामा मल वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखामा युरिया मल पर्याप्त मात्रामा आएपछि मल आपूर्तिमा सहज भएको हो ।
गत साउन महीनादेखि मलको लागि लामो समय प्रतिक्षामा बसेका किसानले पछिल्लो समयमा पर्याप्त मात्रामा मल लैजान पाएपछि हर्षित भएका छन् । ‘अब किसानलाई मलको अभाव हुँदैन’, कम्पनीका शाखा प्रबन्धक बलबहादुर पन्थले भने, ‘कार्यालयमा १९० टन मल भित्रिएकाले किसानले माग गरे अनुरुप लैजान सक्नेछन् ।’
कार्यालयले तीन जिल्लाका ११५ सहकारीमार्फत मल वितरण कार्य थालेको उनले बताए । उनका अनुसार कार्यालयले निर्धारण गरेका सबै सहकारीलाई समानुपातिक ढङ्गबाट मल वितरण गरेपछि सहकारीबाट किसानले मल पाउने छन् ।
समयमा मल नआउँदा किसानले चर्को सास्ती भोग्नुपरेको थियो । ब्यास नगरपालिका—३ स्थित नवीन उपभोक्ता सहकारी संस्थाका सञ्चालक अतिन्द्र केशरी न्यौपानेले मलको आपूर्तिमा सहज भएपछि मलको अभाव नभएको बताए ।
धानबालीमा युरिया मल हाल्ने समयमा साउनदेखि मल बेच्न नपाएका कारण बिहानैदेखि पसलमा मानिसको भीड लाग्ने गरे पनि मल सहजरुपमा पाउन थालेपछि भीड हट्दै गएको उनले बताए ।
केही दिन युरिया मलको अभाव देखिए पनि पोटास र डिएपी मल भने कम्पनीमा मौज्दात रहेको शाखा प्रबन्धक पन्थले बताए। युरिया मलले धान र कोदोबाली पसाउने, बालीनाली सप्रने, गाँज ठूलो बनाउने, उत्पादनमा राम्रो हुने भएकाले किसानको रासायनिक मलप्रति आर्कषण बढ्दै गएको हो ।
